Biratnagar, Morang, Nepal
सामाजिक सेवा

विराटनगर जेसीजको ‘प्रेरणादायी युवा सम्मान’ डा. निकिता कार्कीलाई

-
अखवारका कुरा
१८ कार्तिक २०८३, मङ्गलवार

Advertisement

 

विराटनगर। विराटनगर जेसीजले स्वास्थ्य सेवा, उद्यमशीलता र सामाजिक क्षेत्रमा योगदान पुर्‍याएको भन्दै डा. निकिता कार्कीलाई ‘प्रेरणादायी युवा सम्मान’ प्रदान गरेको छ।

विराटनगरस्थित होटल स्वागतममा आयोजित कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जीवन कार्की, पूर्व राष्ट्रिय अध्यक्ष फुलकुमार लालवाणी, पूर्वसांसद योगेन्द्र मण्डल, बिराटनगर जेसीजका अध्यक्ष कविराज दाहाल र वरिष्ठ कार्यकारिणी उपाध्यक्ष रञ्जनकुमार शाही लगायतले उहाँलाई सम्मान गर्नुभएको थियो।

डा. कार्की बिराट नर्सिङ होमका प्रमुख कार्यकारी अधिकृत तथा बिराट ग्रुप अफ कम्पनीजका प्रमुख कार्यकारी अधिकृत एवं उपाध्यक्ष हुनुहुन्छ। स्वास्थ्य क्षेत्रको व्यवस्थापन र संस्थागत विकासमा सक्रिय उहाँले बिराट ग्रुपमार्फत स्वास्थ्य सेवासँगै विभिन्न व्यावसायिक क्षेत्रमा काम गर्दै आउनुभएको छ।

सामाजिक क्षेत्रमा पनि सक्रिय कार्कीको पहलमा सञ्चालित ‘ह्वाइट मुन’ अभियानमार्फत १२६ विद्यालयका करिब १० हजार विद्यार्थीलाई महिनावारी स्वास्थ्यसम्बन्धी सचेतना प्रदान गरिएको छ। त्यस्तै, बिराट क्यान्सर इन्स्टिच्युटमार्फत क्यान्सरसम्बन्धी जनचेतना र बिरामीलाई सहयोग गर्ने गतिविधिमा उहाँको संलग्नता रहँदै आएको छ।

सम्मान ग्रहणपछि कार्कीले प्राप्त सम्मान आफू एक्लैको उपलब्धि नभई संस्थासँग आबद्ध हजारौँ कर्मचारीप्रति समर्पित गरेको बताउनुभयो। संस्थाको प्रगतिमा कर्मचारीको मेहनत, समर्पण र सामूहिक प्रयासको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाँले सम्मानलाई सबैको साझा उपलब्धिका रूपमा लिएको बताउनुभयो।

उहाँले आगामी दिनमा सामाजिक सेवाका क्षेत्रमा अझ सक्रिय भएर लाग्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। विशेषगरी रगत अभावका कारण कसैले पनि उपचारबाट वञ्चित हुनुपर्ने अवस्था आउन नदिन रक्तदानसम्बन्धी अभियानमा थप भूमिका खेल्ने उहाँको भनाइ थियो। उहाँले रक्तदानलाई जीवन बचाउने महत्वपूर्ण सामाजिक कार्यका रूपमा उल्लेख गर्दै सबैलाई रक्तदान गर्न आग्रहसमेत गर्नुभयो।

बिराटनगर जेसीजका अध्यक्ष कविराज दाहालले युवाको नेतृत्व क्षमता, उद्यमशीलता र सामाजिक उत्तरदायित्वलाई प्रोत्साहन गर्ने उद्देश्यले डा. कार्कीलाई सम्मान गरिएको बताउनुभयो। यस्ता सम्मानले युवालाई समाजका लागि रचनात्मक काम गर्न थप प्रेरणा मिल्ने उहाँको भनाइ छ।

View : 139

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved