लायन्सको सेवा
विराटनगर : रोगसँगको लामो संघर्ष र आर्थिक अभावले उपचारसमेत कठिन बनेपछि विराटनगरकी एक महिलालाई लायन्स क्लब अफ विराटनगर एक्टिभले मानवीय सहयोग प्रदान गरेको छ।
विराटनगर महानगरपालिका–६, सरोचियाकी ५८ वर्षीया अनु शर्मा कामत विगत १५ वर्षदेखि मधुमेह, ६ वर्षदेखि सोरायसिस (छालासम्बन्धी रोग) र मोतियाबिन्दुको समस्याबाट पीडित छिन्। हाल बीएफएम रोडस्थित कृषि भवन नजिक बसोबास गर्दै आएकी कामतको परिवारमा वृद्ध आमा र २१ वर्षीया छोरी मात्रै आश्रित छन्। कमजोर आर्थिक अवस्थाका कारण नियमित उपचारसमेत सहज हुन नसकेको अवस्थामा क्लबले उपचारमा सघाउने उद्देश्यले नगद आर्थिक सहयोग गरेको हो।
कोशी अस्पताल, विराटनगरमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष लायन अनिल बरालले बिरामीलाई सहयोग रकम हस्तान्तरण गरेका थिए। कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष तथा पूर्व डिस्ट्रिक्ट गभर्नर लायन रेवतबहादुर कार्की प्रमुख अतिथिका रूपमा सहभागी थिए। प्रथम उपाध्यक्ष लायन धना थापा कार्की, पूर्व अध्यक्ष फडिन्द्र थापा, सहसचिव सन्तोष पोद्दार, पूर्व कोषाध्यक्ष गणेश शाह तथा सह–कोषाध्यक्ष लायन किशोर घिमिरेलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले समाजमा आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने नागरिकका लागि सानो सहयोगले पनि ठूलो आशा जगाउन सक्ने बताए। उनीहरूले मानवीय सेवाको वास्तविक अर्थ दुःखमा परेकालाई साथ दिनु भएको उल्लेख गर्दै यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
सहयोग ग्रहणपछि अनु शर्मा कामत र उनका परिवारजनले उपचारको कठिन घडीमा साथ दिएको भन्दै लायन्स क्लब अफ विराटनगर एक्टिभप्रति कृतज्ञता व्यक्त गरेका थिए।
लायन्स क्लब अफ विराटनगर एक्टिभले सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण तथा मानवीय सेवाका कार्यक्रममार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउने अभियानलाई निरन्तर अघि बढाउँदै आएको जनाएको छ।
View : 89
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved