सुरक्षित चालक अभियान
विराटनगर : सार्वजनिक सवारी व्यवस्थापनलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउने अभियानका रूपमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको अगुवाइमा सुरु गरिएको ‘सुरक्षित चालक अभियान’ विराटनगरमा प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ।
सिटी सफारीको अव्यवस्थित सञ्चालन, ट्राफिक नियम उल्लङ्घन, ओभरलोड तथा तीव्र गतिका कारण बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने लक्ष्यसहित अघि बढाइएको अभियानमा महेन्द्र मोरङ क्याम्पस विराटनगरका विद्यार्थीहरू ट्राफिक स्वयंसेवकका रूपमा ट्राफिक प्रहरीसँग काँधमा काँध मिलाएर सडकमा उत्रिएका छन्। उनीहरूले सिटी सफारी चालकहरूलाई सुरक्षित, अनुशासित र जिम्मेवार रूपमा सवारी सञ्चालन गर्न प्रत्यक्ष परामर्श दिँदै सचेतनामूलक पर्चा–पम्प्लेट वितरण, सन्देशमूलक स्टिकर टाँस्ने र नियम पालना गर्न आग्रह गरेका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष न्यौपानेले सवारी दुर्घटना न्यूनीकरणका लागि कारबाहीमुखी सोचभन्दा व्यवहार परिवर्तनमुखी अभियान आवश्यक रहेको बताउनुभयो। “सडक सुरक्षाको विषय प्रहरीको मात्र जिम्मेवारी होइन, चालक, यात्रु र पैदलयात्री सबैको साझा दायित्व हो। नियमको पालना नै सुरक्षित यात्राको एकमात्र विकल्प हो,” उहाँले स्पष्ट पार्नुभयो।
पौष २१ गते सोमबार सञ्चालन गरिएको उक्त अभियानले सडकमा चेतना र जिम्मेवारीको सशक्त सन्देश प्रवाह गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार यस्ता अभियानले चालकको सोच र व्यवहारमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउँदै सुरक्षित सवारी संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
View : 98
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved