Biratnagar, Morang, Nepal
स्थानीय तह

इटहरी जेसीजको ‘ककस’ : उम्मेदवार आमनेसामने

इटहरी जेसीजको आयोजनामा फागुन ७ मा ‘ककस’ : सुनसरी-२ र ३ का उम्मेदवारबीच प्रत्यक्ष बहस

फागुन ७ मा सुनसरी २ र ३ का उम्मेदवार आमनेसामने ‘ककस’ कार्यक्रममा मतदातासामु आफ्ना एजेन्डा र योजना प्रस्तुत गर्दै
-
अखवारका कुरा
४ फागुन २०८२, सोमवार

Advertisement

इटहरी - आउँदो निर्वाचनलाई लक्षित गर्दै इटहरी जेसीजले फागुन ७ गते सुनसरी क्षेत्र नम्बर २ र ३ का उम्मेदवारबीच ‘ककस’ अर्थात् प्रत्यक्ष सार्वजनिक बहस कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम इटहरी लेडी जेसीजको सह-आयोजनामा सम्पन्न हुनेछ।

आयोजकका अनुसार ‘ककस’मा उम्मेदवारहरूले आफ्ना एजेन्डा, विकास दृष्टिकोण र प्रतिबद्धता मतदातासामु प्रत्यक्ष राख्नेछन्। सहभागीहरूले प्रश्न राख्न पाउने र उम्मेदवारले खुला रूपमा जवाफ दिनुपर्ने व्यवस्था गरिनेछ।

इटहरी जेसीजका अध्यक्ष मिसन पराजुलीले लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउन खुला बहस आवश्यक रहेको बताए। “निर्वाचन केवल प्रचारमा सीमित हुनुहुँदैन। मतदाताले उम्मेदवारको दृष्टि र योजनाबारे प्रत्यक्ष सुन्न पाउनुपर्छ,” उनले भने, “ककसले मतदाता र उम्मेदवारबीच पारदर्शी संवादको वातावरण बनाउनेछ।”

कार्यक्रम संयोजक प्रदोश ढकालका अनुसार शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार, सुशासनलगायत क्षेत्रका मुद्दा बहसको केन्द्रमा रहनेछन्। “हामीले सबै प्रमुख दल र स्वतन्त्र उम्मेदवारलाई एउटै मञ्चमा ल्याउने प्रयास गरेका छौं,” उनले भने, “यसले मतदातालाई सूचित निर्णय गर्न आधार दिनेछ।”

कार्यक्रमको मुख्य प्रायोजन शक इनर्जी ड्रिन्कले गरेको छ भने सह-प्रायोजकका रूपमा डिजिटल पेन्टस रहेको जनाइएको छ। आयोजकले कार्यक्रमलाई शान्त, व्यवस्थित र विषयकेन्द्रित बनाउने तयारी गरिएको जनाएको छ।

स्थानीय स्तरमा उम्मेदवारबीच यस प्रकारको खुला बहस कमै हुने गरेको अवस्थामा ‘ककस’ कार्यक्रमलाई लोकतान्त्रिक संस्कृतिको अभ्यासका रूपमा हेरिएको छ।

View : 71

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved