काठमाडौं — मनकामना टोल सुधार समाजले विजया दशमी, शुभदीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। विगतका वर्षझैं यस वर्ष पनि आयोजित कार्यक्रममा अतिथि तथा सहभागीले एकअर्कालाई चाडपर्वको शुभकामना व्यक्त गरेका थिए।
समाजका अध्यक्ष कृष्णप्रसाद खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर २ का सांसद सुनिल केसी प्रमुख अतिथि थिए। विशेष अतिथिका रूपमा कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्की तथा वडा नम्बर ७ का कार्यवाहक अध्यक्ष भक्तबहादुर थापाको उपस्थिति थियो।
कार्यक्रममा अतिथिहरूले विजया दशमी, तिहार, नेपाल संवत् तथा छठ पर्वले सबैको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धि ल्याओस् भन्ने शुभकामना व्यक्त गरे। चाडपर्वले आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई थप बलियो बनाउने विश्वाससमेत व्यक्त गरिएको थियो।
शुभकामना आदानप्रदानका क्रममा टोलवासीबीचको आत्मीय सम्बन्ध र सहकार्यलाई निरन्तरता दिँदै सामाजिक हितका काममा एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिइएको थियो। विभिन्न समुदायले मनाउने चाडपर्वलाई साझा खुसीका रूपमा मनाउँदा आपसी सम्मान र मेलमिलाप बढ्ने धारणा सहभागीहरूले राखेका थिए।
कार्यक्रममा काँडाघारी प्रहरी प्रभागका प्रहरी नायब निरीक्षक, समाजका पूर्वअध्यक्ष कुमार पन्त तथा निवर्तमान अध्यक्ष रोहन पौडेलको समेत उपस्थिति थियो।
कार्यक्रमका अध्यक्ष खतिवडाले सम्पूर्ण टोलवासी तथा उपस्थित अतिथिहरूमा चाडपर्वको शुभकामना व्यक्त गर्दै समाजका गतिविधिमा निरन्तर साथ र सहयोगको अपेक्षा गरे। कार्यक्रमको सञ्चालन समाजका सचिव प्रकाशराज पराजुलीले गरेका थिए।
View : 55
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved