Biratnagar, Morang, Nepal
सामाजिक सेवा

राधाकृष्ण रथयात्रा

विराटनगरमा ९५औँ श्रीराधाकृष्ण रथयात्राको तयारी सुरु ,एक हजार एक सदस्यीय मूल समारोह समिति गठन

-
अखवारका कुरा
२३ साउन २०८३, शनिवार

Advertisement

विराटनगर। भगवान् श्रीकृष्णप्रतिको आस्था, भक्ति र सनातन संस्कृतिको अनुपम प्रतीक मानिने विराटनगरको ऐतिहासिक श्रीराधाकृष्ण रथयात्राको ९५औँ संस्करणलाई भव्य, मर्यादित र आध्यात्मिक वातावरणमा सम्पन्न गर्ने तयारी सुरु भएको छ। विराटनगर–१ स्थित प्रसिद्ध श्रीराधाकृष्ण मन्दिर समितिको आयोजनामा सम्पन्न धार्मिक साधारणसभाले एक हजार एक  सदस्यीय मूल समारोह समिति गठन गर्दै रथयात्रा महोत्सवको औपचारिक शुभारम्भ गरेको हो।
मन्दिर कार्यसमितिका अध्यक्ष कैलाश रेग्मीको अध्यक्षतामा सम्पन्न साधारणसभामा मूल समारोह समितिसँगै विभिन्न धार्मिक, व्यवस्थापकीय तथा सेवा कार्यलाई प्रभावकारी बनाउन १६ वटा उपसमितिका संयोजक र सहसंयोजकहरूको घोषणा गरिएको छ।
आगामी भदौ १९ गते श्रीकृष्ण जन्माष्टमी मनाइनेछ भने त्यसको भोलिपल्ट भदौ २० गते विराटनगरमा एसियाकै दोस्रो ठूलो मानिने पवित्र श्रीराधाकृष्ण रथयात्रा निकालिनेछ। भगवान् श्रीराधाकृष्णको दिव्य विग्रह विराजमान रथले महानगरको करिब ८ किलोमिटर दूरी परिक्रमा गर्नेछ। रथयात्रामा लाखौँ श्रद्धालु भक्तजन, साधुसन्त, वैदिक विद्वान तथा विभिन्न धार्मिक संघ–संस्थाको सहभागिता रहने विश्वास गरिएको छ।
साधारणसभामा अध्यक्ष रेग्मीले रथयात्रा केवल एउटा सांस्कृतिक उत्सव मात्र नभई भक्ति, सेवा, सद्भाव र सनातन धर्मको संरक्षणको महाअभियान भएको उल्लेख गर्नुभयो। उहाँले मन्दिरको भविष्यलाई दृष्टिगत गर्दै यसै वर्षदेखि नयाँ मन्दिर निर्माणको गुरुयोजना (मास्टर प्लान) तयार पारिने जानकारी पनि दिनुभयो।
मन्दिर समितिका सचिव कृष्णबहादुर कार्कीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ९५औँ रथयात्राको धार्मिक महत्त्वबारे प्रकाश पार्नुभयो। उहाँका अनुसार रथयात्राका अवसरमा छात्रवृत्तिसहित विभिन्न धार्मिक तथा शैक्षिक पुरस्कारहरू प्रदान गरिनेछ। साथै, हाल २,१०० वर्गफिट क्षेत्रफलमा पाँचतले अत्याधुनिक सामुदायिक भवन निर्माणाधीन अवस्थामा रहेको जानकारी दिनुभयो।
कोषाध्यक्ष नरेश राठीले आर्थिक वर्ष २०८२/८३ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका पूर्व सहसंयोजक स्वर्गीय लिलानाथ बरालको पावन स्मृतिमा उहाँकी धर्मपत्नी विश्व मञ्जरी बरालले मन्दिरका तर्फबाट धार्मिक पुरस्कार वितरण गर्ने उद्देश्यले अक्षयकोषमा पाँच लाख रुपैयाँ प्रदान गर्ने घोषणा गर्दै चेक हस्तान्तरण गर्नुभयो ।

मन्दिर व्यवस्थापन समितिका संयोजक दामोदर प्रसाद घिमिरेले श्रीराधाकृष्णको कृपा र भक्तजनको सहयोगबाट यस वर्षको रथयात्रा अझ भव्य, अनुशासित र ऐतिहासिक बन्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा विराटनगर–१ का वडाध्यक्ष काजीबहादुर बस्नेत, उपसभापति नन्दकिशोर राठी, व्यवस्थापन समिति सदस्य पुनम गुप्ता, रथयात्राका मुख्य सारथि पण्डित भवानी शंकर निरौला लगायत वक्ताहरूले भगवान् श्रीराधाकृष्णको महिमा विश्वभर फैलाउने यस ऐतिहासिक रथयात्रा सफल बनाउन सम्पूर्ण श्रद्धालु, धर्मप्रेमी र नगरवासीको एकताबद्ध सहभागिता अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो।
विराटनगरको धार्मिक पहिचानसँग अभिन्न रूपमा जोडिएको श्रीराधाकृष्ण रथयात्रा नेपालकै प्राचीन र प्रतिष्ठित रथयात्रामध्ये एक मानिन्छ। यसले प्रत्येक वर्ष सनातन धर्मावलम्बीहरू मात्र नभएर अन्य धर्मावलम्बीलाई समेत भक्ति, श्रद्धा, सेवा र आध्यात्मिक एकताको सूत्रमा बाँध्दै आएको छ।

View : 124

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved