उद्यमशीलता सगँँ खेलकुद जोड्दै विराट स्पोर्ट्स जोन
विराटनगर - कोशी प्रदेशमा आधुनिक खेलकुद संस्कृति विस्तार गर्ने उद्देश्यसहित कन्फेडेरेसन अफ नेपाली इन्डस्ट्रिज यंग इन्टरप्रेन्योर्स फोरम (CNIYEF) कोशी र विराटनगरस्थित विराट स्पोर्ट्स जोनबीच समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। सम्झौताअनुसार CNIYEF कोशीका सदस्यहरूले विराट स्पोर्ट्स जोनमा उपलब्ध विभिन्न खेलकुद गतिविधिमा विशेष छुट प्राप्त गर्नेछन्।
सम्झौताले व्यस्त उद्यमी र युवालाई व्यवसायिक दबाबबाट केही समय अलग भई शारीरिक र मानसिक स्वास्थ्यमा ध्यान दिन प्रेरित गर्ने अपेक्षा गरिएको छ। CNIYEF कोशीले आफ्ना सदस्य सञ्जाल तथा डिजिटल प्लेटफर्ममार्फत विराट स्पोर्ट्स जोनको प्रवर्द्धन गर्नेछ भने स्पोर्ट्स जोनले सदस्यमैत्री खेल प्याकेज उपलब्ध गराउनेछ।
सम्झौतापछि आयोजित ई-कार्टिङ प्रतियोगिताले विराट स्पोर्ट्स जोनको आधुनिक पूर्वाधार, सुरक्षित ट्र्याक र प्रतिस्पर्धात्मक वातावरणलाई उजागर गरेको थियो। प्रतियोगितामा मुदित गोल्छा प्रथम, मयंक शाह प्रथम उपविजेता र उत्सव गोयल द्वितीय उपविजेता बने।
विराट स्पोर्ट्स जोनका बोर्ड सदस्य धड्कन कट्टेलले आठ महिनाको योजनाबद्ध तयारीपछि केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिँदै यो स्थल युवाको फिटनेस, प्रतिभा विकास र सकारात्मक सोच निर्माणको साझा केन्द्र बन्ने विश्वास व्यक्त गरे।
प्रबन्ध निर्देशक तथा बोर्ड अध्यक्ष हरि बजगाईंले मोबाइल फोनमा सीमित हुँदै गएको जीवनशैलीलाई खेलमैदानतर्फ मोड्ने लक्ष्यसहित विराट स्पोर्ट्स जोन स्थापना गरिएको बताए। “आर्थिक अनिश्चितताबीच पनि जोखिम मोलेर प्रशिक्षकसहित अत्याधुनिक सुविधा सुरु गरेका छौं, जसले युवालाई सक्रिय, अनुशासित र सामाजिक बनाउनेछ,” उनले भने।
CNIYEF कोशीका अध्यक्ष सुसन प्रधानले उद्यमीहरूका लागि मानसिक सन्तुलन र विश्राम अपरिहार्य रहेको उल्लेख गर्दै विराट स्पोर्ट्स जोनजस्ता खेलकुद केन्द्रहरूले कार्य–जीवन सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
विराट स्पोर्ट्स जोनमा कोशी प्रदेशमै पहिलो पटक ई-कार्टिङ, फुटसल, क्रिक्सल, स्केटिङ तथा चाँडै सञ्चालनमा आउन लागेको पिकल बल सुविधा एकै स्थानमा उपलब्ध छन्। यसले विराटनगरलाई खेलकुद, फिटनेस र सक्रिय जीवनशैलीको नयाँ गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।
View : 120
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved