काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशव्यापी आन्दोलन कार्यक्रम गर्ने घोषणा गरेको छ ।
मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले अध्यक्ष ओली पक्राउको विरोधमा देशव्यापी आन्दोलन कार्यक्रम गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
उनको अनुसार चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलनकेन्द्रित बृहत भेला गर्ने, चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने, वैशाख ३ गते वडा तहमा भेला गर्ने, वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने र वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।
सरकारद्वारा विद्यार्थी तथा पेशागत संगठनहरूसम्बन्धी गरिएका गतिविधिहरूका विषयसमेत समेटेर सबै जनसंगठनहरूले आ–आफ्नो ढंगले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै पार्टीद्वारा घोषित आन्दोलनलाई प्रभावकारी बनाउन सहयोग गर्ने पनि निर्णय भएको छ ।
साथै बैठकले नेकपा एमालेले संसदभित्र अन्य दलसँग सहकार्यका लागि उपाध्यक्ष रामबहादुर थापा र सचिव पद्मा अर्याललाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।
View : 36
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved