विराटनगर - मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने उद्देश्यका साथ विराटनगर जेसीजले ‘टुगेदर फर अटिजम’ कार्यक्रम सम्पन्न गरेको छ। अटिजम भएका व्यक्तिहरू पनि समाजको अभिन्न अङ्ग भएको सन्देश प्रवाह गर्दै उनीहरूलाई सम्मानजनक र स्वतन्त्र जीवनयापनका लागि सचेतना अभिवृद्धि गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो।
विराटनगर महानगरपालिकाद्वारा सञ्चालित वडा नं. ४, दुधफारमस्थित महानगर अटिजम सेवा केन्द्रमा आयोजित कार्यक्रममा अटिजमसम्बन्धी जनचेतना फैलाउने प्रयास गरिएको थियो। कार्यक्रममा विराटनगर जेसीजका अध्यक्ष कबिराज दाहालले अटिजमबारे सही बुझाइ समाजमा विस्तार गर्न र अटिजम भएका व्यक्तिहरूको सामाजिक पुनःस्थापनाका लागि सबैको सहकार्य आवश्यक रहेको बताए।
कार्यक्रमकी प्रमुख अतिथि तथा विराटनगर महानगरपालिकाकी उप–प्रमुख शिल्पा निराला कार्कीले अटिजम सेवा केन्द्र सञ्चालनमा आएदेखि अन्य संघ–संस्थाको अपेक्षित ध्यान नपुगेको अवस्थामा विराटनगर जेसीजले पहल गरेकोप्रति खुसी व्यक्त गरिन्। उनले केन्द्रको विकास र सेवाको विस्तारका लागि आगामी दिनमा सहकार्य र समन्वयलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिइन्।
कार्यक्रममा वरिष्ठ मनोचिकित्सक तथा पूर्व स्वास्थ्य सचिव डा. रोशन पोखरेलले अटिजम कुनै रोग नभई न्युरोडेभलपमेन्टसँग सम्बन्धित अवस्था भएको उल्लेख गर्दै समयमै पहिचान र उचित व्यवहारिक तथा शैक्षिक सहयोग पाएमा अटिजम भएका बालबालिकाले पनि आफ्नो क्षमता अनुसार उत्कृष्ट प्रदर्शन गर्न सक्ने बताए। उनले अभिभावक, शिक्षक र समुदायबीच सहकार्य अत्यन्त आवश्यक रहेको पनि स्पष्ट पारे।
कार्यक्रममा महानगर स्वास्थ्य महाशाखा प्रमुख दिलिप यादव, जेसीजका पूर्व अध्यक्षद्वय श्यामसुन्दर पौडेल ‘मिलन’ र प्रितेशराज दाहाललगायतको उपस्थिति थियो। साथै अटिजम भएका बालबालिका, उनीहरूका अभिभावक, सेवा केन्द्रका शिक्षक तथा जेसीज सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा अटिजम भएका बालबालिकालाई उनीहरूकै फोटो अंकित कप तथा खाद्यान्न वितरण गरिएको कार्यक्रम संयोजक बन्दना निरौलाले जानकारी दिइन्।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको विराटनगर जेसीजका जनसम्पर्क अधिकारी आकृति रानी फुयलले जानकारी दिइन्।
View : 76
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved