Biratnagar, Morang, Nepal
राजनीति

सुकुम्बासी बस्तीमा डोजर चलाएको विरोधमा भुसालको चेतावनी : ‘नागरिक डराए परिणाम राम्रो हुँदैन’

२३ वैशाख २०८३, बुधवार

Advertisement

काठमाडौं । नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले सुकुम्बासी बस्तीमा डोजर चलाइएको विरोध गर्दै सरकारको कार्यशैलीप्रति चिन्ता व्यक्त गरेका छन् । माइतीघर मण्डलामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शक्तिशाली सरकारसँग जनताका अपेक्षा पनि उच्च हुने बताए ।
उनले जनताले आफ्नो सम्पूर्ण क्षमता प्रयोग गरी सरकार गठनमा सहयोग गरेको उल्लेख गर्दै नेपालको राजनीतिक इतिहासमा अस्थिरता र निरंकुशताको दोहोरो समस्या रहेको धारणा राखे ।
उनले भने, ‘जति शक्तिशाली सरकार हुन्छ त्यति स्वभाविक जनताका अपेक्षाहरु पनि त्यति नै हुन्छन् । जनताले अपेक्षाका साथ नै आफ्नो सम्पूर्ण बुद्धि, क्षमता प्रयोग गरेर यो सरकारलाई ल्याउनका लागि सहयोग गरेका हुन् । नेपालको इतिहासमा दुईवटा अभिसाप छ । नेपाल या त अस्थिरता, लोकतन्त्रका नाममा अस्थिरता र स्थिरताका नाममा लोकतन्त्रमाथिको आक्रमण । हामी सधैं यसबाट गुज्रिएर आइरहेका छौं । प्रजातन्त्र र लोकतन्त्रको नाममा हामी अस्थिरता पनि बेहोर्दै आइरहेका छौं । स्थिरताको नाममा निरकुंशता पनि बेहोर्दै आइरहेका छौं ।’
भुसालले मुलुकको आकांक्षा लोकतान्त्रिक स्थिरतासहित समृद्धि भएको बताउँदै विगतमा बनेका बहुमतका सरकारहरू अपेक्षाअनुसार सफल हुन नसकेको टिप्पणी गरे । उनले वर्तमान सरकार सफल होस् भन्ने जनचाहना रहेको उल्लेख गर्दै सरकार बनेको छोटो समयमै भएका गतिविधिले नागरिकलाई चिन्तित बनाएको बताए ।
उनले भने, ‘नेपाल राष्ट्रको आकांक्षा भनेको लोकतान्त्रिक स्थिरताका साथ मुलुकले समृद्धि खोजेको छ । एकपछि अर्को सरकार आएका छन् र बहुमतका बलिया सरकार पनि आएका छन् । हामीले ती सरकारहरु बेहोरेका छौं, ती सरकारहरुले सफलताका साथ काम गरेनन् र तीनिहरु गएँ । बालेन सरकार नेपाली जनताले चाहेजस्तै सफल होस् लोकतान्त्रिक स्थिरताका साथ । तर दुर्भाग्य के छ भने यो सरकारको पूरा मूल्यांकन गर्न सक्ने बेला भएको छैन । सरकार बनेको डेढ महिना नै नहुँदै जे जस्ता गतिविधि भएका छन् यसले नेपाली नागरिकलाई झस्काएको छ। जब नागरिक सरकारसँग डराउँछन् तब त्यसको परिणाम राम्रो हुँदैन । यो सरकारले आफ्ना कमजोरिहरु सुधारोस् भन्नका लागि पनि हामीले ध्यानाकर्षण गराएका हौं । यो सरकारले सुकुम्बासी बस्तीमाथि जुन व्यवहार गर्यो यो ठूलो अत्याचार हो ।’
सुकुम्बासी बस्तीमा गरिएको कारबाहीलाई उनले ठूलो अत्याचारको संज्ञा दिँदै सरकारलाई आफ्ना कमजोरी सुधार्न आग्रह गरे ।

View : 10

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved