विराटनगर । ज्येष्ठ कृष्ण औँसीका अवसरमा मनाइने शनि जयन्तीमा विराटनगरस्थित शनि मन्दिरमा वर्षकै सबैभन्दा बढी भक्तजनको भीड लागेको छ । बिहानैदेखि दर्शन तथा पूजा आराधनाका लागि श्रद्धालुहरूको लाम लागेको छ भने मन्दिर परिसर भक्तजनको चहलपहल देखिएको छ ।
शनिदेवको जन्मोत्सवका रूपमा मनाइने शनि जयन्तीमा पूजा गर्नाले ग्रहजन्य दोष, साढेसाती तथा अशुभ प्रभाव हटेर सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ । सोही विश्वासका साथ भक्तजनहरु मन्दिर पुगेको लाइनमा उभिएर दर्शन गर्ने अधिकाश भक्तजनको भनाइ छ ।
भक्तजनहरूले शनिदेवलाई तेल, कालो तिल, कालो वस्त्र, फलफूल तथा विभिन्न पूजा सामग्री अर्पण गर्दै विशेष पूजा गरेका थिए । कतिपय श्रद्धालु व्रत बसेर शनैश्चर मन्त्र जप, दीप प्रज्वलन तथा दान–पुण्यमा समेत सहभागी भएका थिए ।
युवा अभियान्ता सविन दाहालले अन्य वर्षको तुलनामा यस वर्ष मन्दिरमा उल्लेख्य रूपमा बढी भीड देखिएको बताए । “बिहानदेखि नै श्रद्धालुको ठूलो उपस्थिति देखियो, अघिल्ला वर्षभन्दा यस पटक भक्तजनको संख्या धेरै लागेको महसुस भयो,” उनले भने ।
हिन्दु धर्मशास्त्रमा शनिदेवलाई कर्मफलदाता तथा न्यायका देवताका रूपमा मानिन्छ । शनि जयन्तीका अवसरमा देशभरका शनि मन्दिर तथा नवग्रहस्थलहरूमा विशेष पूजा, आराधना तथा धार्मिक कार्यक्रम आयोजना गरिएको छ ।
View : 111
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved