विराटनगर— ताप्लेजुङको फुङलिङ नगरपालिका–१० स्थित सडकखण्डमा पाथीभरा दर्शनका लागि गइरहेको बोलेरो गाडीमा विद्युत् लाइनको तार खस्दा आगलागी भएको छ। उक्त घटनामा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
बुधबार बिहान करिब ५ बजे फुङलिङबाट पाथीभरा मन्दिरतर्फ यात्रु लिएर गइरहेको मे १ ज ३०११ नम्बरको बोलेरो गाडीमा अचानक विद्युत् प्रसारण लाइनको तार खसेको प्रहरीले जनाएको छ। करेन्ट लागेसँगै गाडीमा भीषण आगलागी हुँदा चार जनाको घटनास्थलमै ज्यान गएको हो।
मृतकहरूमा ललितपुर महानगरपालिका–१० की १६ वर्षीया आध्या आचार्य, झापा भद्रपुर नगरपालिका–१५ निवासी ७० वर्षीय विनोद पौडेल, उनकी ६९ वर्षीया श्रीमती सरिता पौडेल, र गाडी चालक फुङलिङ नगरपालिका–१० का ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन्।
स्थानीयवासीका अनुसार आगलागी यति डरलाग्दो थियो कि मृतकहरूको शव पहिचान गर्नसमेत कठिन भएको थियो।
दुर्घटनामा ललितपुरकी ४५ वर्षीया सविना आचार्य गम्भीर घाइते भएकी छन् भने उनका १० वर्षीय छोरा भविमय आचार्य पनि मध्यम घाइते भएका छन्। दुवैलाई तत्काल उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
विद्युत् तार कसरी गाडीमाथि खस्यो भन्ने विषयमा हाल प्रहरी तथा प्राविधिक टोलीले अनुसन्धान गरिरहेको छ।
View : 98
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved