बुवाको मुख हेर्ने दिन विशेष
भोक लाग्दा पानीले पेट भरिँदैन, तिर्खा लाग्दा खीरले प्यास मेटिँदैन । जस्तै गरी, बुबाको मान–सम्मान र सपना कुल्चिँदै दिइएको उपहारले उहाँलाई कहिल्यै खुशी दिन सक्दैन । आज बुबाको मुख हेर्ने दिन हो । श्रद्धा, कृतज्ञता र स्मृतिको दिन । तर मेरो लागि यो केवल परिकार खुवाउने वा उपहार दिने दिन होइन, जीवनकै एउटा लामो यात्राको सम्झना हो, जहाँ बुबाको सपना, उहाँको त्याग र संघर्ष, अनि मेरो वर्तमान एकैसाथ मिसिएका छन् ।
मलाई डाक्टर बनाउने सपना मेरो बुबाले देख्नुभयो । गाउँको सामान्य परिवारमा जन्मिएको म, कक्षा ८ पछि निजी विद्यालयमा भर्ना भएँ । त्यो निर्णय सजिलो थिएन । आर्थिक हिसाबले परिवारमा दबाब थियो, तर बुबाले आफ्नै चाहना, आफ्ना सुविधा र सजिलो जीवनलाई पछाडि सार्नुभयो । उहाँलाई लाग्थ्यो, “सन्तानलाई पढाइदिए भविष्य उज्यालो हुन्छ, समाजले इज्जत गर्छ ।”
एक्लो छोरो भएर पनि बुबाले मलाई छात्रावास पठाउनुभयो । त्यो क्षण मेरो लागि पीडादायी थियो । परिवारको मायाबाट अलग भएर टाढा बस्नु पर्यो। तर बुबाको दृष्टि टाढासम्म थियो । उहाँलाई तत्कालीन कठिनाइभन्दा मेरो भविष्य महत्वपूर्ण लाग्यो । आफूलाई गाह्रो परे पनि उहाँले मलाई घर–परिवारको घेराबाट अलग राखेर पढाइमा केन्द्रित गराउनुभयो ।
बुबाले मेरो पढाइलाई निरन्तरता दिन जुन संघर्ष गर्नुभयो, त्यसको कथा अझै मेरो आँखामा ताजा छ । जब म काठमाडौं पढ्न गए, गाउँ डुम्राहाबाट झुम्का बजारसम्म बुबा साईकलमा जानुहुन्थ्यो । त्यहाँ बैंकमा लामो लाइन बसेर ड्राफ्ट बनाएर पैसा पठाउनुहुन्थ्यो । आजको जस्तो इन्टरनेट, मोबाइल बैंकिङ, ई–सेवा केही थिएन । गाउँमा बाटोघाटो सजिलो थिएन । तातो घाम, धुलो, असुविधा अनि कृषक परिवार भन्ने बित्तिकै पैसा नहुने । तर बुबाले कहिल्यै गुनासो गर्नु भएन । उहाँका लागि सबैभन्दा ठूलो कुरा मेरो पढाई थियो । भन्नु हुन्थ्यो, “मेरो छोरो पढ्दैछ, राम्रो भविष्य बनाउन प्रयास गर्दैछ ।”
त्यो समय मलाई पैसाको अभाव महसुस नभए पनि, पैसाको महत्व काधमा जिम्मेवारी आए पछि थाहा भयो । पारिवारीक भागवण्डा र आफन्तहरुको आपत्तकालिन निर्णयहरुको कारक तत्व बुझ्दै गए ।
आज म डाक्टर बनेको छु । अस्पतालमा बिरामीको पीडा कम गर्न सघाउँछु । गाउँका सामाजिक कामहरुमा पनि सारथि बन्छु । अनि मेरो मनमा पहिलो स्मरण बुबाकै आउँछ । किनभने यो उपलब्धि मेरो मात्र होइन, बुबाको सपना साकार भएको परिणाम हो । गाउँका बिरामीलाई सहयोग गर्दा, स्वास्थ्य शिविरमा सानो योगदान दिँदा, बुबाले गर्वसाथ भन्नुहुन्छ, “यो मेरो छोरो हो ।” त्यो सुन्दा मेरो हृदयभरि एउटा अद्भुत मिठास भरिन्छ । त्यो मिठास कुनै उपहार खोलेर आउँदैन, त्यो मिठास मेरो इमानदार जीवन, मेरो जिम्मेवार कर्म र मेरो बुबाप्रतिको कृतज्ञताबाट जन्मिन्छ ।
बुबाको अनुहार हेर्ने भनेको केवल आजको दिनमा परिकार खुवाउने वा उपहार दिने मात्र होइन । उहाँले देखेको सपना, उहाँको मौनता, उहाँका बलिदान र त्यागलाई सम्झेर आफ्नो बाटो रोज्नु हो । उहाँलाई गर्व दिलाउने कर्म गर्नु हो । समाजमा प्रायः देखिन्छ, यो दिनलाई बाहिरी चमक–दमकमा सीमित गरिन्छ । उपहार दिने, फोटो खिच्ने, मिठो खाने, सामाजिक सञ्जालमा पोस्ट गर्नेमा रमाइन्छ । तर बुबाको मौनता बुझ्न सकिँदैन, उहाँका बलिदानको कथा सुन्न सकिँदैन । उपहार सुन्दर हुन्छ, तर असली सुन्दरता जिम्मेवारीमा हुन्छ । बुबालाई केवल मोबाइल वा घडी दिएर होइन, आफ्नो पढाइमा इमानदारी देखाएर, समाजमा सदाचारले उभिएर, आफ्ना कर्मलाई सकारात्मक बनाएर खुशी दिन सकिन्छ । उहाँका अनुहारमा खुशी रङ्गिन कागजको प्याकेटमा रहेको उपहार खोल्दा भन्दा बढि आफ्नो सन्तानलाई जिम्मेवार नागरिकको रूपमा देख्न पाउदा हुन्छ, जस्तो लाग्छ ।
समयले बुबाको अनुहारमा अनेकौँ चिरा कोरेको छ, तर त्यो अनुहार हाम्रा लागि प्रेरणाको खुला किताब हो । उहाँको मौनता एउटा मार्गदर्शक हो, उहाँको सरलता एउटा मूल्य हो, र उहाँको त्याग हाम्रो जीवनको आधारशिला हो । कहिलेकाहीँ म उहाँको अनुहारमा त्यो चमक देख्छु । गर्वको चमक । त्यतिबेला महसुस गर्छु, मैले बुबालाई दिएको सबैभन्दा ठूलो उपहार भनेको मेरो जीवनको जिम्मेवारी र सकारात्मकता हो ।
आजको दिन, हामी सबै बुबालाई केवल उपहार नदिई, जिम्मेवार सन्तान बनेर उपहार दिऊँ । हाम्रो सकारात्मक सोच, हाम्रो इमानदार कर्म र उहाँको सपना पूरा गर्ने संकल्प नै हो साँचो मुखदर्शन । उपहारका बाकसहरू भोलि पुराना हुन्छन्, मिठाइ खाइन्छ, तर जिम्मेवारी र इमानदार जीवन बुबाको हृदयमा अमर हुन्छ । त्यसैले बुबाको अनुहार हेर्दा केवल मुख मात्र नहेरी, उहाँका संघर्षको कथा पनि हेरौं । उहाँका मौनतामा लुकेका चाहनाहरू सुन्न प्रयास गरौं । र आफूलाई प्रश्न गरौं,“मैले दिएको उपहारले होइन, मैले बाँच्ने जीवनले बुबालाई गर्व गराएको छु कि छैन?”
त्यही उत्तर नै साँचो मुखदर्शन हो ।
( डाक्टर साहका यस्तै अनुभुति तथा अन्य लेख रचनाहरु उनको www.drbalkrishnashah.blogspot.com मा हेर्न र पढ्न सकिन्छ । )
View : 228
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved