विराटनगर । दुई दशकदेखि नेपाली कांग्रेसको संगठन र राजनीतिमा निरन्तर सक्रिय युवा उद्योगी तथा समाजसेवी सुमन प्रसाईं जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित भएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विराटनगर महानगरमा सम्पन्न निर्वाचनबाट जिल्ला सदस्यमा निर्वाचित प्रसाईंले पार्टी संगठनसँगको आफ्नो दुई दशक लामो सम्बन्धलाई अब थप जिम्मेवारीका साथ अघि बढाउने बताएका छन्।
उद्योग व्यवसाय, सामाजिक सेवा र राजनीतिलाई सँगसँगै अघि बढाउँदै आएका प्रसाईं विराटनगर महानगरमा कांग्रेसलाई निर्वाचनमा विजयी गराउन लामो समयदेखि अग्रपंक्तिमा रहेर सक्रिय रहँदै आएका छन्। संगठन परिचालनदेखि चुनावी अभियानसम्म पार्टीको पक्षमा निरन्तर मैदानमा खटिँदै आएका प्रसाईं कार्यकर्तामाझ सक्रिय युवा नेताका रूपमा परिचित छन्।
पार्टीभित्र युवाको भूमिका बढाउनुपर्ने आवश्यकता औँल्याउँदै प्रसाईंले जिम्मेवारी पाएको खण्डमा युवा विभागमा रहेर काम गर्ने आफ्नो इच्छा व्यक्त गरेका छन्। युवालाई पार्टीको संगठनसँग जोड्ने, नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने र राजनीतिक गतिविधिमा उनीहरूको अर्थपूर्ण सहभागिता बढाउने आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ।
‘पदभन्दा पनि जिम्मेवारीलाई महत्व दिनुपर्छ’ भन्ने मान्यता राख्ने प्रसाईंले आफूले पाएको जिम्मेवारीलाई संगठन निर्माणमा उपयोग गर्ने बताएका छन्।
करिब २० वर्षको राजनीतिक यात्रामा पार्टीका विभिन्न गतिविधिमा सक्रिय रहँदै आएका प्रसाईंको निर्वाचितलाई कांग्रेसको जिल्ला तहमा युवा पुस्ताको उपस्थितिलाई थप संस्थागत गर्ने अवसरका रूपमा हेरिएको छ।
अब जिल्ला कार्यसमितिमा रहेर संगठनलाई थप गतिशील बनाउने र युवालाई कांग्रेसको मूलधारमा जोड्ने चुनौती प्रसाईंको काँधमा आएको छ।
View : 38
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved