विराटनगर - दुईपाङ्ग्रे सवारी साधन निर्माता कम्पनी यमाहाले आफ्ना ग्राहकसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले विराटनगरमा ग्राहक भेटघाट कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम विराटनगर मुनालपथमा अवस्थित यमाहाको आधिकारिक सोरुम तिरुपती अटो प्यालेसमा सम्पन्न भएको हो।
कार्यक्रममा सहभागी ग्राहकहरूले सेवा, स्पेयर पार्ट्सको उपलब्धता तथा बिक्रीपछिको सेवाबारे आफ्ना अनुभव र सुझाव राखेका थिए। आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य ग्राहकसँगको सम्बन्ध सुदृढ गर्नु र सेवामा देखिएका कमीकमजोरी सुधार गर्नु हो। कार्यक्रममा कम्पनीका प्राविधिक टोलीले बाइक मर्मतसम्भार, नियमित सर्भिसिङको महत्व तथा सुरक्षित सवारीसम्बन्धी जानकारी दिएका थिए।
यमाहा नेपालका सर्भिस प्रमुख निर्मल कार्कीले ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकता दिएको बताउँदै भने, “बिक्रीपछि प्रदान गरिने सेवा नै ब्रान्डप्रतिको विश्वासको आधार हो। ग्राहकका सुझावलाई हामीले गम्भीर रूपमा लिएका छौं र सेवा गुणस्तर अझ सुधार गर्दै जानेछौं।” उनले नियमित सर्भिसिङ र आधिकारिक सर्भिस सेन्टरको प्रयोगले सवारीको आयु बढाउने उल्लेख गरे।
यस्तै, रिजनल सेल्स म्यानेजर रबिन श्रेष्ठले ग्राहकसँग प्रत्यक्ष संवादलाई कम्पनीको दीर्घकालीन रणनीतिको हिस्सा भएको बताए। “बजार विस्तारसँगै सेवा सञ्जाललाई पनि मजबुत बनाउँदै लगेका छौं। ग्राहकको विश्वास नै हाम्रो सबैभन्दा ठूलो पूँजी हो,” उनले भने।
कार्यक्रममा लामो समयदेखि यमाहा प्रयोग गर्दै आएका तथा आफ्नो बाइक/स्कुटरबाट एक लाख किलोमिटरभन्दा बढी यात्रा पूरा गरेका ग्राहकहरूलाई विशेष सम्मान गरिएको थियो। कम्पनीले यस्ता ग्राहकलाई ब्रान्डप्रतिको विश्वास र निरन्तर साथका लागि कदरस्वरूप सम्मान गरिएको जनाएको छ। कम्पनीले आगामी दिनमा पनि यस्ता अन्तरक्रियामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
View : 80
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved