विराटनगर — Students For Liberty (SFL) ले “क्लासिकल लिबरलिज्मका १० मूल सिद्धान्त” विषयमा आयोजना गरेको संवाद कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ। कार्यक्रम SFL का स्थानीय संयोजक पवन कुमार काफ्लेको संयोजनमा सञ्चालन गरिएको थियो।
खुला संवादको ढाँचामा सम्पन्न उक्त कार्यक्रममा सहभागीहरूले व्यक्तिगत स्वतन्त्रता, सीमित सरकार, स्वतन्त्र बजार, सहिष्णुता, स्वतस्फूर्त व्यवस्था (Spontaneous Order), नागरिक समाजको भूमिका, विधिको शासन, तथा शान्ति र गैर–हस्तक्षेपजस्ता मुख्य सिद्धान्तहरूबारे विस्तृत छलफल गरेका थिए।
कार्यक्रमको प्रारम्भमा संयोजक काफ्लेले क्लासिकल लिबरलिज्मको परिचय दिने क्रममा व्यक्तिगत स्वतन्त्रतालाई सर्वोच्च राजनीतिक मूल्य मान्ने विचारधाराले समाजलाई स्वतन्त्रता, स्व–जिम्मेवारी र स्वैच्छिक सहयोगमार्फत समृद्ध बनाउन विश्वास गर्ने बताए। उनले नेपालमा स्वतन्त्रताको अभ्यास, अनावश्यक सरकारी दखल, बजारका अवरोध र कानुनको असमान कार्यान्वयन जस्ता चुनौतीबारे युवाहरूले उठाएका प्रश्न सराहनीय रहेको उल्लेख गरे।
संवादमा सहभागी युवाहरूले आ–आफ्ना दृष्टिकोण, अनुभव र उदाहरणसहित क्लासिकल लिबरलिज्मका सिद्धान्तहरूको वर्तमान सान्दर्भिकता, नागरिक समाजको भूमिकाको प्रभावकारिता, तथा भविष्यमा आवश्यक नीतिगत सुधारबारे सक्रिय सहभागिता जनाएका थिए।
कार्यक्रमलाई सहभागीहरूले ज्ञानवर्धक, सोच–प्रेरक र व्यवहारमै लागू गर्न सकिने खालको रहेको भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन्।
समापन सत्रमा स्थानीय संयोजक काफ्लेले SFL द्वारा आगामी दिनमा पनि संवाद, नीति–चर्चा तथा नेतृत्व विकासका कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने जानकारी गराउँदै सबै सहभागीप्रति आभार व्यक्त गरे।
Students For Liberty विश्वकै सबैभन्दा ठूलो विद्यार्थी–सञ्जाल हो, जसले व्यक्तिगत स्वतन्त्रता, स्वतन्त्र बजार र दायित्वपूर्ण समाजका लागि शिक्षामूलक तथा नेतृत्व विकासका गतिविधि सञ्चालन गर्दै आएको छ।
View : 105
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved