विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगरपालिका वडा नं. ४ को पार्टी कार्यालय उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी महामन्त्री डा. डिला सङ्ग्रौला पन्तले पार्टी कार्यालयको उद्घाटन गर्नुभएको हो।
वडा सभापति अर्जुन चुडालको सभापतित्वमा सम्पन्न कार्यक्रममा महाधिवेशन प्रतिनिधिसहित पार्टीका विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
कार्यालय उद्घाटनसँगै वडा कार्यसमितिले पार्टीका गतिविधिलाई प्रविधिमैत्री र व्यवस्थित बनाउने उद्देश्यले ‘कांग्रेस डिजिटलाइजेसन अभियान’ समेत सुरु गरेको छ।
कार्यक्रममा वडा सभापति अर्जुन चुडालले पार्टी कार्यालयलाई केवल बैठक र भेला गर्ने स्थानका रूपमा मात्र नभई संगठन निर्माण, कार्यकर्ता परिचालन र जनतासँग जोडिने साझा केन्द्रका रूपमा विकास गरिने बताउनुभयो। उहाँले बदलिँदो समय र प्रविधिको आवश्यकतालाई आत्मसात् गर्दै वडा तहबाटै पार्टीलाई आधुनिक र व्यवस्थित बनाउने उद्देश्यले डिजिटलाइजेसन अभियान सुरु गरिएको उल्लेख गर्नुभयो।
त्यसैगरी महामन्त्री डा. डिला सङ्ग्रौला पन्तले पार्टी संगठनलाई बलियो बनाउन वडा तहको सक्रियता, एकता र व्यवस्थित कार्यशैली महत्वपूर्ण हुने बताउनुभयो। उहाँले प्रविधिको प्रयोगमार्फत पार्टीका गतिविधि तथा अभिलेखलाई व्यवस्थित बनाउने प्रयास सकारात्मक रहेको उल्लेख गर्दै पार्टीलाई समयानुकूल रूपान्तरण गर्दै जनतासँग अझ नजिक बनाउनुपर्नेमा जोड दिनुभयो।
डिजिटलाइजेसन अभियानअन्तर्गत वडा कार्यसमितिका सम्पूर्ण दस्तावेज, अभिलेख तथा महत्वपूर्ण कागजातलाई डिजिटल प्रणालीमा सुरक्षित राखिनेछ। पार्टीका सदस्यता विवरण, संगठनात्मक गतिविधि र अन्य आवश्यक अभिलेखलाई व्यवस्थित तथा चुस्तदुरुस्त राख्दै आवश्यक परेको समयमा सहजै प्राप्त गर्न सकिने व्यवस्था मिलाइने जनाइएको छ।
पार्टीको परम्परागत कार्यशैलीलाई आधुनिक प्रविधिसँग जोड्दै संगठनलाई थप पारदर्शी, प्रभावकारी र प्रविधिमैत्री बनाउने लक्ष्यका साथ अभियान अघि बढाइएको हो।
View : 388
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved