ललितपुर । जन प्रशासन क्याम्पस त्रिभुवन विश्व विद्यालय र नेपाल जन प्रशासन संघको संयुक्त आयोजनामा आइतबार ललितपुर धोविघाटमा ‘सुशासन र प्रशासनिक सुधार संवाद कार्यक्रम’ आयोजना गरियो ।
सो अवसरमा ‘सार्वजनिक सेवा प्रवाह सुधार र नागरिक केन्द्रित शासन’ र ‘सार्वजनिक सेवाको डिजिटलाइजेशन र आधुनिकीकरण’ विषयक कार्यपत्रहरूमाथि गहन छलफल र संवाद गरियो।
सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटाले ‘नागरिक मैत्री सेवा प्रवाह र सुशासनको मार्गचित्र’ अवधारणा पत्रमा संवैधानिक र कानुनी आधार, नागरिकमैत्री सेवाको अवधारणा, सेवा प्रवाहका औजारहरू, अन्तर्राष्ट्रिय अभ्यास, सुधारको मार्गचित्रलगायतका विषयमाथि चर्चा गरेका थिए ।
महासचिव डा। दिलीपराज पौडेलले सुरु गरेको प्रथम शत्रको सहजीकरण जनप्रशासन क्याम्पसका प्रमुख सुवास शर्माले गरेका थिए । प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्दै जन प्रशासन क्याम्पसका उप–प्राध्यापक केशबराज पाण्डेले सिद्धान्त र व्यवहार बिचको खाडल मेटाउनुपर्नेमा जोड दिए ।
जनताको करबाट आर्जित रकमको सम्मान गर्दै कर्मचारी उत्प्रेरित हुनुपर्ने र सिंगापुर जस्तो व्यावहारिक प्रशासन नेपालमा आवश्यक रहेको औँल्याए । सोही अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव हेमराज अर्यालले लेखिएको भन्दा पनि देखिने गरी कार्यालयहरू नागरिकमैत्री हुनुपर्नेमा जोड दिए ।
‘हेलो सरकार’ मा प्राप्त ३५ सय बढी गुनासोहरूको सन्दर्भ जोड्दै उनले सरकार अब नियन्त्रणमुखी नभई सेवामुखी हुनुपर्ने र डिजिटल माध्यमबाट सरलीकरण गर्नुपर्ने बताए । साथै प्राडा प्रचण्ड प्रधानले कर्मचारीतन्त्रमा रहेको ‘फेरि अर्को मुर्गा आयो’ भन्ने सोचाइप्रति तिखो व्यङ्ग्य गर्दै प्रशासनमा मेरिटोक्रेसी र पारदर्शिताको खाँचो रहेको औँल्याए । पूर्व उपसचिव लट नारायण साहले मानव संसाधन व्यवस्थापनमा रहेको विभेद हटाउनुपर्ने र तल्लो तहका कर्मचारीलाई पनि पर्याप्त तालिम दिएर कार्यस्थलमा खटाउनुपर्नेमा जोड दिए ।
दोस्रो सत्रमा विभूषण विष्ट प्रस्तोता रहेका थिए । दोस्रो कार्यपत्रको सत्रलाई मधुरमण आचार्यले सहजकर्ताको रूपमा भूमिका निर्वाह गरे । सो अवसरमा ई–गभर्नेन्स र डिजिटलाइजेसनमा हामी कहाँ छौँ भन्ने विषयमा छलफल भएको थियो ।साथै कार्यक्रमको अन्तिम सत्रमा जनप्रशासन क्याम्पसका पूर्व प्राध्यापकहरू तथा जनप्रशासन संघका पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको थियो ।
View : 43
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved