Biratnagar, Morang, Nepal
सामाजिक सेवा

विराटनगरमा ऐतिहासिक शालिक पुनर्स्थापनाको अभियान सुरु

२१ चैत २०८२, शनिवार

Advertisement

विराटनगर। महेन्द्र चोकस्थित ऐतिहासिक तथा सांस्कृतिक पहिचान संरक्षण गर्ने उद्देश्यसहित राजा महेन्द्रको शालिक पुनर्स्थापनाका लागि तदर्थ समिति गठन गरिएको छ।

स्थानीय स्तरमा बढ्दो चासो र ऐतिहासिक धरोहर जोगाउने अभियानलाई संस्थागत रूप दिन घनश्याम थापा मगरको संयोजकत्वमा “इतिहास तथा संस्कृति संरक्षण अभियान समूह” गठन गरिएको हो।

समितिले विराटनगरको पुरानो ऐतिहासिक स्वरूप, सांस्कृतिक पहिचान र सार्वजनिक स्मृतिलाई जोगाउँदै शालिक पुनर्स्थापनालाई प्राथमिकतामा राख्ने जनाएको छ।

समितिमा सभिना उप्रेती पोखरेल, निश्चल चन्द्र घिमिरे, मोहित लालवानी, संजय बाबु शर्मा, पशुपति साह, उत्तम दाहाल, विकल कार्की, रेवती रमण दाहाल र विक्रम कार्की सदस्य रहेका छन्।

सदस्यहरूले इतिहास संरक्षण केवल विगतको सम्झना मात्र नभई भावी पुस्ताका लागि पहिचान र प्रेरणाको आधार भएको बताएका छन्।

समितिले सबै राजनीतिक दल, सामाजिक संघ–संस्था तथा नगरवासीलाई साझा जिम्मेवारीका साथ अभियानमा सहभागी हुन आह्वान गरेको छ।

स्थानीय तहसँग समन्वय गर्दै ऐतिहासिक संरचनाको संरक्षण र पुनर्स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाइने समितिले जनाएको छ।

यस अभियानलाई विराटनगरको सांस्कृतिक पहिचान मजबुत बनाउने र नगरको ऐतिहासिक गौरव पुनः स्थापित गर्ने महत्वपूर्ण पहलका रूपमा लिइएको छ।

View : 128

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved