Biratnagar, Morang, Nepal
राजनीति

ओलीको विपक्षमा उभिए पाण्डे र ज्ञवाली, नेतृत्व परिवर्तन अनिवार्य

-
अखवारका कुरा
२२ मंसिर २०८२, सोमवार

Advertisement

काठमाडौं । नेकपा एमालेभित्र आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको र नेतृत्व व्यक्तिनिर्भर बन्दै गएको नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताएका छन् ।

सोमबार एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा पदाधिकारीहरुसँगको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले अध्यक्ष केपी शर्मा ओलीले अघि सारेका एकतर्फी सूची–आधारित चुनाव प्रणालीप्रति व्यापक असन्तुष्टि व्यक्त गरिएको र यसले आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको बताएका हुन् ।
नेतृत्वको एकतर्फी सूची बनाएर त्यसैअनुसार उम्मेदवार तय गर्ने प्रवृत्ति बढेको र उक्त सूचीमा रहेका व्यक्तिले मात्र चुनाव लड्न पाउने व्यवस्था प्रस्ताव गरिएको उनले बताए । उनले यी अभ्यासहरूले ‘गाउँ फर्क’ शैलीको पूरानो पञ्चायती प्रणालीजस्तै चरित्र देखिएको पनि बताए ।

उपाध्यक्ष पाण्डेले भने, ‘एमालेको आठौं महाधिवेशनमा नेतृत्वका लागि आन्तरिक लोकतान्त्रिकरणका सिद्धान्तहरू पारित भएका थिए । तत्कालीन अध्यक्ष केपी शर्मा ओलीकै प्रस्तावमा पारित ती सिद्धान्त नवौं महाधिवेशनमा समेत निरन्तरता पाए । तर १०औँ महाधिवेशनमा आएर अध्यक्ष ओलीले ‘पहिले उठ्नेले उठ्न पाउने’ प्रणाली लागू गर्न खोजे यो त गाँउ फर्क शैली हैन र ?’
ओलीले ‘पूर्वको नेता पश्चिमले कसरी चिन्छ’, ‘दार्चुलाको मान्छेलाई ताप्लेजुङले कसरी चिन्छ’ जस्ता तर्क गर्दै नेताले चिनेकाले मात्र भोट पाउनुपर्ने धारणा अघि सारेको उपाध्यक्ष पाण्डेले बताए । नेता परिचित व्यक्तिलाई मात्र भोट दिनुपर्ने यस्तो अभ्यासले लोकतान्त्रिक विधि विपरीत जाने उनको तर्क छ।
‘अहिले उहाँले के व्याख्या गरिरहनु भएको छ भने पूर्वको मान्छेलाई पश्चिमको मान्छेले कहाँ चिन्छ । दार्चुलाको मान्छेलाई ताप्लेजुङकोले कसरी चिन्ने ? त्यो त नेताले मात्र चिन्छ । नेताले चिनेको मान्छेलाई सबैले भोट हाल्नुपर्छ यो लोकतान्त्रिक विधी भयो र ? धेरै चोटी उहाँले बोल्नुभएको छ । यस्तो विधीबाट पार्टी लोकतान्त्रिक हुँदैन । अझै लोकतान्त्रिक इतिहास बोकेको पार्टीलाई व्यक्तिवादी र केही व्यक्तिको निर्णयबाट चल्ने पार्टीको रुपमा रुपान्तरित गर्ने जुन स्थिति बन्दै छ,’ नेता पाण्डेले भने ।
पार्टीभित्रको एक समूहले यस्तो प्रवृत्तिले एमालेलाई व्यक्तिनिर्भर, केन्द्रीयकृत निर्णयमा सीमित बनाउँदै लगेको र जनतामाझ पार्टी साघुरिने जोखिम बढ्दै गएको उनले चेतावनी पनि दिए ।

संगठन विस्तारमा युवाको महत्वपूर्ण भूमिका रहने भए पनि चुनाव नहुने, प्रतिस्पर्धा नहुने पार्टीमा नवपुस्ता आकर्षित नहुने टिप्पणी गरे ।

त्यस्तै, उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीमा नेतृत्व परिवर्तन जरुरी भएको औंल्याए । उनले पार्टीको ११औँ महाधिवेशनमा आफूहरूले सामूहिक नेतृत्व प्रणालीलाई स्थापित गराउन नेतृत्व परिवर्तन गर्न चाहेको बताएका हुन् ।

ओलीले एकलकाटे प्रवृत्ति देखाएको र नेतृत्व प्रधान भन्ने गलत मान्यतालाई अघि बढाएकाले आफूहरूले त्यसको विकल्पमा ईश्वर पोखरेललाई नयाँ नेतृत्वको रूपमा अघि बढाउन बाध्य हुने परेको ज्ञवालीको भनाइ छ ।

View : 40

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved