विराटनगर - विश्व एड्स दिवसको अवसरमा एचआईभी/एड्ससम्बन्धी जनचेतना बढाउने र प्रभावकारी नीति–कार्यन्वयनमा आवश्यक समन्वयबारे विराटनगरमा आयोजित प्यानल छलफल उच्चस्तरको विमर्शसँगै सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका स्वास्थ्य सचिव डा. यदुचन्द्र घिमिरेले AHF नेपालले एचआईभी रोकथाम, उपचार सुरु गर्न तथा दीर्घकालीन केयर–सपोर्टमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै प्रदेशमा दिगो स्वास्थ्य सेवाका लागि साझा पहल आवश्यक रहेको बताए। उनले समुदायमा आधारित स्वास्थ्य सेवा विस्तारमा AHF को सहयोग “उल्लेखनीय र प्रेरणादायी” रहेको पनि औँल्याए।
स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञान बहादुर बस्नेतले भने, “सरोकारवाला निकायको सक्रियताले दाताको सहयोग बिना पनि कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न सहज वातावरण तयार भएको छ। AHF नेपालको प्राविधिक र सामग्रीगत समर्थनले कार्यान्वयनको विश्वसनीयता बढाएको छ।”
स्वास्थ्य कार्यालय मोरङका प्रमुख योगराज घिमिरेले देशको एचआईभी/एड्सको समग्र अवस्थाबारे जानकारी दिए। २०८०/८१ को आंकडा अनुसार कोशी प्रदेशमा २६२३ PLHIV ART सेवा लिइरहेका छन भने कोशी प्रदेशमा २२० एच आइ भि संक्रमित थपिएका छ।
प्यानल छलफल नेपाल जनस्वास्थ्य संघका महासचिव कैलाश खाकी श्रेष्ठको नेतृत्वमा सञ्चालन भएको थियो। छलफलमा सरोकारवाला प्रतिनिधिहरूले विभिन्न दृष्टिकोण प्रस्तुत गर्दै चुनौती र समाधानबारे विचार साझा गरे।
परिवर्तनशील समाजकी अध्यक्ष मुस्कान श्रेष्ठले भेदभाव, हिंसा र सामाजिक अपहेलनाका विषयलाई जोड दिँदै, “एचआईभी सम्बन्धी जनचेतना राज्य र साझेदार दुवैको साझेदारी बिना समुदायमा पुर्याउन सम्भव छैन” भनिन्। उनले फरक समुदायका व्यक्तिलाई रोजगारीका अवसरमा राज्यले के–के सुविधा दिएको छ भन्ने पनि प्रश्न गरिन्।
महिला महासङ्घकी अध्यक्ष प्रीती सुब्बा गुरुङले जोखिम समूहका महिलाले उपचार खोज्दा अझै सहज सेवा नपाएको समस्या औँल्याउँदै स्वास्थ्य प्रणालीमा सुदृढ उत्तरदायित्व आवश्यक रहेको बताइन्।
रिचमण्ड फेलोसिपका सन्जिव चापागाईंले आफ्नो व्यक्तिगत अनुभव साझा गर्दै भने, “म २००४ देखि ड्रग्स छाडेर यस क्षेत्रमा लाग्दै आएको छु। यस क्रममा मैले धेरै चुनौती र अनुभवहरू देखेको छु। विद्यालय तथा युवा समूहमा फैलिंदै गएको गलत बुझाइ र कलंक तोड्न, सूचना, पहुँच र सुरक्षित व्यवहार तालिमलाई संस्थागत कार्यक्रमको रूपमा विस्तार गर्नैपर्ने देखिएको छ। अहिलेका युवा पुस्तालाई पनि यो विषय खोजमूलक र प्रयोगयोग्य हुन जरुरी छ।”
NAP+N का केन्द्रीय सदस्य सञ्जिव खड्काले भने, “नीति निर्माणदेखि निगरानी प्रणालीसम्म संक्रमित समुदायलाई प्रत्यक्ष सहभागी गराउनुपर्छ।”
कार्यक्रम स्वास्थ्य निर्देशनालय धनकुटा, AHF नेपाल, स्वास्थ्य कार्यालय मोरङ, लायन्स क्लब अफ विराटनगर मेट्रो, नेक्सस, रेन्बो, युथ र लियो क्लब अफ विराटनगर सेन्ट्रलको संयुक्त आयोजनामा सम्पन्न भएको थियो। विराटनगर महानगरपालिका लगायत विभिन्न सामाजिक सङ्घ–संगठन तथा समुदाय प्रतिनिधिहरूको पनि उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।
View : 77
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved