Biratnagar, Morang, Nepal
देश

बारामा मोबाइल चोरीको आरोपमा बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार महिला पक्राउ

-
अखवारका कुरा
१८ असार २०८३, बिहिवार

Advertisement

सर्लाही । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा मोबाइल चोरी गरेको आरोप लगाउँदै चार जना बालबालिकालाई रुखमा बाँधेर कुटपिट गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार महिलालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बालबालिकालाई बरको रुखको फेदमा डोरीले बाँधेर निर्घात कुटपिट गरिएको थियो। घटनापछि प्रहरीको अनुसन्धानका क्रममा ६२ वर्षीया मिना रजन मगर, ३२ वर्षीया पवीकुमारी आले मगर, ३० वर्षीया रानीमाया मोत्तान र ४२ वर्षीया निर्मला वाइबालाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार उक्त घटना मङ्गलबार भएको हो। घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै चारै जनालाई पक्राउ गरेको उनले बताए ।

प्रहरीले पक्राउ परेका महिलाविरुद्ध बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान सुरु गरेको जनाएको छ । घटनाका सबै पक्षबारे प्रमाण संकलन भइरहेको र अनुसन्धानको निष्कर्षका आधारमा कानुनी प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ ।

बालबालिकामाथि गरिएको यस्तो अमानवीय व्यवहारप्रति स्थानीयवासीले समेत गम्भीर चासो व्यक्त गरे । प्रहरीले कानुन हातमा लिएर कसैलाई पनि यस प्रकारको दुर्व्यवहार गर्न नपाइने भन्दै दोषीमाथि कानुनअनुसार कारबाही हुने जनाएको छ ।

View : 43

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved