Biratnagar, Morang, Nepal
+977-9708590006
देश

शी लिड्स आइकन अवार्ड

शी लिड्स आइकन अवार्ड समारोह तथा महिला जनप्रतिनिधिको उत्सव पुष १९ गते काठमाडौंमा

-
अखवारका कुरा
४ पुष २०८१, बिहिवार

Advertisement


काठमाडौं ।
महिला सशक्तीकरण र नेतृत्वलाई प्रेरित गर्दै नेपाली महिला जनप्रतिनिधिहरुको उल्लेखनीय योगदानलाई सम्मान गर्न "शी लिड्स आइकन" अवार्ड समारोह तथा महिला जनप्रतिनिधिको उत्सव आगामी पुष १९ गते काठमाडौंमा आयोजना हुने भएको छ। कार्यक्रम बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा सम्पन्न हुनेछ।
यस ऐतिहासिक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्य रहनेछ। कार्यक्रमको प्रमुख विशेषता स्थानीय तहमा उत्पादित सामग्रीहरुको प्रदर्शनी, सूचना केन्द्र र स्टलहरू रहनेछन्। साथै, स्थानीय तहबाट प्राप्त १४० आवेदनमध्ये निर्णायक मण्डलद्वारा छनोट गरिएका २७ प्रेरणादायी महिला जनप्रतिनिधिबाट उत्कृष्ट तीन जनालाई "आइकन" घोषणा गरिनेछ।
कार्यक्रमले “महिला स्वास्थ्य, महिला उद्यमशिलता, नीति र न्याय, सशक्तिकरण र जवाफदेहित” जस्ता क्षेत्रहरूमा उत्कृष्ट योगदान पुर्याउने महिलाहरुलाई विशेष सम्मान गर्नेछ। आयोजक संस्थाकी अध्यक्ष पुजा कोइरालाका अनुसार तीन हजारभन्दा बढी प्रत्यक्ष सहभागीहरू रहने अपेक्षा गरिएको छ।
कुल १४० आवेदनमध्ये कोशी प्रदेशबाट २४, मधेश प्रदेशबाट १४, बागमती प्रदेशबाट १२, गण्डकी प्रदेशबाट ११, लुम्बिनी प्रदेशबाट ३६, कर्णाली प्रदेशबाट १६ र सुदूरपश्चिम प्रदेशबाट १५ जना महिला जनप्रतिनिधिहरु सहभागी छन्। निर्णायक मण्डलका सदस्यहरू अष्टलक्ष्मी शाक्य (राजनीतिक क्षेत्र), सरु जोशी (सामाजिक क्षेत्र), र चारु चड्ढा (मिडिया क्षेत्र) ले हरेक प्रदेशबाट उत्कृष्ट प्रतिनिधिहरू चयन गरेका छन्।
जनमतका लागि कोशी प्रदेशबाट ४, मधेश प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट ७, कर्णाली प्रदेशबाट ४ र सुदूरपश्चिम प्रदेशबाट ३ जना प्रतिनिधिहरु छनोटमा परेका छन्।
कल्प इम्पावर वेमेन नेपालद्वारा आयोजित यस कार्यक्रमलाई महिला सशक्तीकरणको नयाँ दिशामा लैजाने युवा पुस्ताको प्रयासका रूपमा हेरिएको छ। अध्यक्ष पुजा कोइरालाका अनुसार, यो कार्यक्रमले महिला जनप्रतिनिधिहरुको सुकर्मलाई देशभरि संचार गर्ने महत्त्वपूर्ण प्लेटफर्मको रूपमा काम गर्नेछ।
महिला सशक्तीकरण, उद्यमशीलता, र नेतृत्वलाई प्रवर्द्धन गर्न आयोजना गरिने यो कार्यक्रमले स्थानीय तहका प्रतिनिधिहरुको सशक्त भूमिका उजागर गर्दै देशभरका महिलाहरुलाई प्रेरणा दिने अपेक्षा गरिएको छ। 

View : 129

Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved