Biratnagar, Morang, Nepal
सामाजिक सेवा

जेसीज सप्ताह

नेतृत्व गर्न सिक्न जेसीज उत्कृष्ट थलो : उपमेयर कार्की

-
अखवारका कुरा
१७ कार्तिक २०८२, सोमवार

Advertisement

विराटनगर । नेतृत्व गर्न चाहने युवाहरुले जेसीजबाट धेरै कुरा सिक्न सक्ने विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले बताएकी छन् । विराटनगर जेसीजले आयोजना गरेको ‘जेसीज सप्ताह–२०२५’ अन्तर्गत दोस्रो दिनको दन्त परीक्षण कार्यक्रमको प्रमुख अतिथिका रूपमा बोल्दै उनले सो भनाइ राखेकी हुन् ।

उनले भनिन्, “युवामा नेतृत्व क्षमताको विकास गर्न जेसीज एउटा उत्कृष्ट संस्थागत थलो हो । समाजसेवा र नेतृत्व सिकाइको संयोजन यहीँ पाइन्छ ।”

महिलाहरू नेतृत्वमा आउनु पर्छ भन्ने विश्वास राख्दै सदैव पैरवी गर्ने र अवसर प्रदान गर्ने छवि बनाएकी उपमेयर कार्की सँग किशोरी विद्यार्थीहरू खुसी हुँदै आत्मीय रुपमा आफ्ना भावना अभिव्यक्त गरेका थिए, जसले कार्यक्रमलाई अझ उत्साहपूर्ण बनाएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष श्यामसुन्दर पौडेल ‘मिलनले जेसीजले सधैं सकारात्मक सोच र सामुदायिक परिवर्तनमा अग्रसर भूमिका खेलेको बताए । उनले भने, “जेसीजको मूल मर्म नै ‘सिक्दै सेवा गर्ने’ हो, जसले युवामा जिम्मेवारी र अनुशासनको भावना जगाउँछ ।”

कार्यक्रमको प्राविधिक सहयोग नौलाखा डेन्टल क्लिनिक, विराटनगरले गरेको थियो । डा. दिपेन्द्र नौलाखाको नेतृत्वमा रहेको चिकित्सक टोलीले विद्यालयका बालबालिकाहरूको दन्त परीक्षण गरेको थियो।

कार्यक्रमका मुख्य संयोजक विराटनगर जेसीजका वरिष्ठ कार्यकारिणी उपाध्यक्ष कविराज दाहालले भने, “हामीले जेसीज सप्ताहलाई सामाजिक उत्तरदायित्व र युवा सशक्तीकरण दुवै दृष्टिले अर्थपूर्ण बनाउन प्रयास गरेका छौं।”

अध्यक्ष प्रीतेश राज दाहालले भने, “जेसीजका कार्यक्रमहरूले युवालाई समाजप्रतिको जिम्मेवारी र नेतृत्वप्रति सजग बनाउने काम गरेका छन्,” भन्दै सबै सहभागीप्रति आभार व्यक्त गरे ।

जेसी बाल सदन, विराटनगर–१३ मा सम्पन्न कार्यक्रममा जेसीज बोर्डका पदाधिकारी, पूर्व अध्यक्षहरू, विद्यालय परिवारका प्रतिनिधि र विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रम संयोजक बिनु वान्तवा राईले धन्यवाद मन्तव्य दिएकी थिइन् ।

View : 115

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved