Biratnagar, Morang, Nepal
खेलकुद

विराट स्पोर्ट्स जोन क्रीकशल प्रतियोगिता

ग्रिनल्याण्डलाई अन्तरविद्यालय क्रीकशलको उपाधि

-
अखवारका कुरा
३१ साउन २०८३, आइतवार

Advertisement

विराटनगर । विराट स्पोर्ट्स जोनले आयोजना गरेको प्रथम अन्तरविद्यालय क्रीकशल प्रतियोगिताको उपाधि ग्रिनल्याण्ड सेकेन्डरी स्कुलले जितेको छ। फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै ग्रिनल्याण्डले राइजिङ नेपाल इङ्लिस बोर्डिङ स्कुललाई पछि पार्दै उपाधि हात पारेको हो। राइजिङ नेपाल उपविजेतामा सीमित भयो।
८ ओभरको प्रारूपमा सञ्चालन भएको प्रतियोगितामा विराटनगर क्षेत्रका चार सामुदायिक विद्यालयसहित ३२ विद्यालय सहभागी थिए। विद्यालय तहबाटै क्रिकेट प्रतिभाको पहिचान र विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगिताले विद्यार्थी खेलाडीलाई प्रतिस्पर्धात्मक अनुभव प्रदान गरेको आयोजकले जनाएको छ।
प्रतियोगितामा हेरिटेज इन्टरनेसनल स्कुलले फेयर प्ले अवार्ड प्राप्त गरेको छ। व्यक्तिगत विधातर्फ ७ विकेट लिएका ग्रिनल्याण्डका अमिर मण्डल उत्कृष्ट बलर बने भने प्रतियोगिताभर १७५ रन बनाएका डेनिस राजा उत्कृष्ट ब्याट्सम्यान घोषित भए।
त्यस्तै, कक्षा ५ मा अध्ययनरत हेरिटेज इन्टरनेसनल स्कुलका आयान कट्टेल उदयमान खेलाडी घोषित भए। प्रतियोगितामा ७८ रन बनाउनुका साथै ३ विकेट लिएका ग्रिनल्याण्डका कृष्णराज यादव प्लेयर अफ द टुर्नामेन्ट बने।
समापन समारोहमा प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले खेलकुद विद्यार्थीमा अनुशासन, आत्मविश्वास र प्रतिस्पर्धी भावना विकास गर्ने महत्वपूर्ण माध्यम भएको बताए। विद्यालय तहबाटै खेल प्रतिभाको पहिचान र विकास गर्न सके राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सकिने उनको भनाइ थियो।
विराटनगर–३ का वडाध्यक्ष वासुबहादुर बस्नेतले खेलकुदले विद्यार्थीलाई शारीरिक रूपमा स्वस्थ राख्नुका साथै मानसिक रूपमा अनुशासित बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। अध्ययनसँगै खेलकुदमा सहभागी गराउँदा विद्यार्थीको समग्र व्यक्तित्व विकासमा सहयोग पुग्ने उनको भनाइ थियो।
मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले विद्यार्थीलाई विद्यालय तहदेखि नै खेलकुद तथा अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउन सके लागूऔषधको कुलतबाट टाढा राख्न सकिने बताए। विद्यार्थीको ऊर्जा र समयलाई सकारात्मक गतिविधिमा केन्द्रित गर्न खेलकुद प्रभावकारी माध्यम बन्न सक्ने उनले उल्लेख गरे।
विराट स्पोर्ट्स जोनका अध्यक्ष हरि बजगाईंले विद्यालयस्तरबाटै क्रिकेटको विकास गर्ने र सम्भावना बोकेका खेलाडी पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। उनका अनुसार प्रतियोगिताले विद्यार्थी खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर दिएको छ।
समापन समारोहमा विजेता ग्रिनल्याण्ड, उपविजेता राइजिङ नेपाल तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो।प्रतियोगिताको संचालन स्पोर्ट्स जोनका नवराज काफ्लेले संचालन गरेका थिए । 

प्रतियोगिताका प्रमुख पुरस्कार
• च्याम्पियन: ग्रिनल्याण्ड सेकेन्डरी स्कुल
• उपविजेता: राइजिङ नेपाल इङ्लिस बोर्डिङ स्कुल
• फेयर प्ले अवार्ड: हेरिटेज इन्टरनेसनल स्कुल
• उत्कृष्ट बलर: अमिर मण्डल - ७ विकेट
• उत्कृष्ट ब्याट्सम्यान: डेनिस राजा -१७५ रन
• उदयमान खेलाडी: आयान कट्टेल -कक्षा ५, हेरिटेज इन्टरनेसनल स्कुल
• प्लेयर अफ द टुर्नामेन्ट: कृष्णराज यादव - ७८ रन, ३ विकेट, ग्रिनल्याण्ड सेकेन्डरी स्कुल

View : 31

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved