सम्राटको उडान
विराटनगर । देशकै प्रतिष्ठित फुटबल प्रतियोगितामध्ये एक विराट गोल्डकप फुटबल २०८२ मा विराटनगर–पोखरियास्थित ‘सम्राट स्पोर्टिङ क्लब’ ले पहिलो पटक सहभागिता जनाउने भएको छ।
यसै वर्ष मोरङ जिल्ला लिग च्याम्पियन बन्दै उत्कृष्ट प्रदर्शन गरेको उक्त क्लबले विराट गोल्डकपमा सहभागी हुने अवसर पाएको हो। जिल्लास्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि क्लबले ठूला मञ्चमा आफ्नो क्षमता देखाउने अवसर हासिल गरेको हो।
विराटनगरका पुराना र सक्रिय क्लबहरूमध्ये एक मानिने सम्राट स्पोर्टिङ क्लबले यसअघि विभिन्न स्थानीय तथा क्षेत्रीय प्रतियोगितामा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको थियो। अब गोल्डकपजस्तो राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिताले क्लबलाई नयाँ उचाइतर्फ अघि बढाउने विश्वास गरिएको छ।
क्लबका महासचिव सुवास चन्द्र बस्नेतले यस उपलब्धिप्रति खुशी व्यक्त गर्दै भने, “मोरङ जिल्ला लिग च्याम्पियन बन्नु हाम्रो लागि ठूलो उपलब्धि हो। त्यसैको निरन्तरतामा हामीले विराट गोल्डकपमा स्थान बनाउन सफल भएका छौं। टोलीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास लिएका छौं र खेलाडीहरू पूर्ण रूपमा तयार छन्।”
उनले थपे, “स्थानीय फुटबललाई माथि उठाउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्छन्। हाम्रो टिमको हौसला बढाउन हामी निरन्तर रूपमा साथ रहनेछौं।”
नयाँ टोलीको सहभागितासँगै यस वर्षको विराट गोल्डकप अझ प्रतिस्पर्धात्मक र रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ।
View : 209
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved