काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावित क्षेत्रमा अवरुद्ध भएका सञ्चार सेवा ९५ प्रतिशत पुनःस्थापित भइसकेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीबाट भएको क्षतिबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा अवरुद्ध सञ्चार सेवा दोस्रो दिनदेखि नै पुनःस्थापना गर्न थालिएको बताए । सञ्चार सेवाको पहुँचबाहिर रहेका स्थानमा ३० वटा स्याटेलाइट फोनमार्फत सञ्चार भइरहेको उनको भनाइ छ ।
‘प्रभावित क्षेत्रमा अवरुद्ध भएका सञ्चार सेवा दोस्रो दिनदेखि पुनःस्थापना हुँदै हिजोसम्ममा ९५ प्रतिशत सेवा पुनःस्थापित भइसकेको छ । सञ्चार सेवाको पहुँचभन्दा बाहिर भएका स्थलहरूमा हाल ३० वटा स्याटेलाइट फोनमार्फत सञ्चार भइरहेको छ। बाढीले भोटेकोशी–त्रिशूली करिडोरमा सञ्चालित तथा निर्माणाधीन जलविद्युत् आयोजना र सौर्य परियोजनामा ठूलो क्षति पुर्याएको छ,’ उनले भने ।
प्रधानमन्त्री शाहका अनुसार बाढीले भोटेकोशी–त्रिशूली करिडोरमा सञ्चालित तथा निर्माणाधीन जलविद्युत् आयोजना र सौर्य परियोजनामा ठूलो क्षति पुर्याएको छ । विद्युत् उत्पादन गरिरहेका ८ वटा आयोजनामा २८१ मेगावाट तथा निर्माणाधीन ४ वटा आयोजनामा ३८८ मेगावाट क्षति पुगेको उनले जानकारी दिए ।
क्षतिग्रस्त आयोजनामध्ये केही मात्र मर्मत गर्न सकिने र त्यसका लागि ठूलो लगानी आवश्यक पर्ने देखिएको प्रधानमन्त्री शाहले बताए । बाढीका कारण ४ हजार ३१.१ मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको उनको भनाइ छ ।
नुवाकोटमा वैकल्पिक प्रसारण व्यवस्थामार्फत ८५ प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनःप्रवाह गरिएको, धादिङमा ५८ प्रतिशत र रसुवामा ४० प्रतिशत विद्युत् सेवा पुनःस्थापित भइसकेको प्रधानमन्त्री शाहले जानकारी दिए ।
जलविद्युत् आयोजना क्षेत्रमा उद्धार तथा आवश्यक प्राविधिक कामका लागि भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालन भइरहेको पनि उनले बताए ।
‘नुवाकोटमा वैकल्पिक प्रसारण व्यवस्थामार्फत ८५ प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनःप्रवाह गरिरहेका छौँ। धादिङमा ५८ प्रतिशत विद्युत् सेवा पुनःस्थापना भइसकेको छ। रसुवामा ४० प्रतिशत विद्युत् सेवा पुनःस्थापना भइसकेको छ। जलविद्युत् आयोजना क्षेत्रमा उद्धार कार्यका लागि भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालन भइरहेको छ,’ उनले भने ।
View : 54
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved