देशकै ठूलो सामुदायिक अस्पताल
विराटनगर, मोरङ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी–२ मा निर्माण सम्पन्न जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको शनिबार एक विशेष समारोहबीच उद्घाटन गरेका छन्।
उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारी सहयोगबिनै समुदायको सक्रियता र असल नेतृत्वमा निर्माण भएको अस्पताल प्रेरणादायक रहेको बताए।
“यस्तो सामुदायिक पहल देशभरका लागि अनुकरणीय बन्न सक्छ,” प्रधानमन्त्री ओलीले भने, “यो अस्पतालले विशेषगरी विपन्न र कमजोर वर्गका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच दिने विश्वास लिएको छु।”
समाजले जनाए अनुसार, अस्पताल सामाजिक उत्तरदायित्व र सामाजिक व्यवसायको अवधारणामा आधारित रही स्थापना गरिएको हो, जसको उद्देश्य पूर्वी नेपालका जनतालाई सुलभ, सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्नु हो।
अस्पताल उद्घाटनका अवसरमा संस्थाका अध्यक्ष तथा संघीय सांसद योगेन्द्र मण्डलले प्रधानमन्त्रीलाई स्वागत गर्दै भने, “यो अस्पताल सामाजिक न्याय, सेवा र सहकार्यको प्रतीक हो, जसले पैसाको अभावमा कसैको उपचार रोकिने अवस्था अन्त्य गर्नेछ।”
कार्यक्रममा स्थानीयबासी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अस्पतालको सञ्चालनले पूर्वी नेपालमा समावेशी स्वास्थ्य सेवा प्रवाहमा नयाँ युगको थालनी गर्ने विश्वास लिइएको छ।
View : 456
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved