विराटनगर । मोरङ उद्योग व्यापार संघले वीरगञ्ज उद्योग वाणिज्य संघको टोलीलाई स्वागत गर्दै औपचारिक भेटघाट तथा छलफल गरेको छ। माघ २० गते मंगलबार संघको कार्यालयमा आयोजित कार्यक्रममा दुवै संघबीच आपसी सद्भाव, सहकार्य र पारस्परिक सम्बन्ध विस्तारका विषयमा विचार विमर्श गरिएको हो।
मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष अनिल सारडा, कार्यकारिणी सदस्य विनित सिंघानियासहित संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्षद्वय मनोजकुमार दास र आशिष कुमार लाठको नेतृत्वमा विराटनगर आइपुगेको टोलीलाई स्वागत गरेका थिए।
भेटघाटका क्रममा बोल्दै मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष अनिल सारडाले विराटनगर, वीरगञ्ज, भैरहवा र नेपालगञ्जजस्ता प्रमुख आर्थिक कोरिडोरमा क्रियाशील उद्योगी-व्यवसायीहरूले अन्य क्षेत्रको तुलनामा जमीनीस्तरका व्यवहारिक समस्या बढी भोग्नु परेको उल्लेख गरे। ती साझा समस्याको दीर्घकालीन समाधानका लागि मोरङ उद्योग व्यापार संघ, वीरगञ्ज उद्योग वाणिज्य संघलगायत संघ-संस्थाहरूले संयुक्त रूपमा सरकारसमक्ष सशक्त दबाब सिर्जना गर्नुपर्नेमा उनले जोड दिए।
त्यसैगरी, वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष मनोजकुमार दासले निजी क्षेत्रका समस्या उठान तथा समाधानका लागि मोरङ उद्योग व्यापार संघले गर्दै आएको नेतृत्वदायी भूमिका प्रशंसनीय रहेको बताए। उद्योगी-व्यवसायीहरूको साझा हितका विषयमा आवश्यक सहकार्य र पहलका लागि आफ्नो संघ सदैव तत्पर रहने प्रतिबद्धता उनले व्यक्त गरे।
भेटघाटले दुवै संघबीचको सहकार्यलाई थप सुदृढ बनाउने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।
View : 56
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved