Biratnagar, Morang, Nepal
सामाजिक सेवा

चौदण्डीगढीमा दुईदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै

-
अखवारका कुरा
२ मंसिर २०८३, मङ्गलवार

Advertisement

उदयपुर । सर्वसाधारणलाई स्वास्थ्य सेवाको सहज पहुँचमा पुर्‍याउने उद्देश्यसहित उदयपुरको चौदण्डीगढी नगरपालिका–९ हडियामा दुईदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ।

लायन्स क्लब अफ विराटनगर ग्रिन सिटी र लायन्स क्लब अफ विराटनगर युनिकको संयुक्त आयोजनामा आगामी मंसिर ३ र ४ गते शिविर सञ्चालन हुन लागेको हो। विराट मेडिकल कलेजको प्राविधिक सहयोग तथा चौदण्डीगढी नगरपालिकाको समन्वयमा आयोजना हुने शिविर वडा नम्बर ९ स्थित स्वास्थ्य चौकीको भवनमा सञ्चालन हुनेछ।

लायन्स क्लब अफ विराटनगर ग्रिन सिटीका अध्यक्ष चिन्तामणि बस्नेतले स्वास्थ्य सेवा सर्वसाधारणको सहज पहुँचमा पुर्‍याउनु सामाजिक संस्थाहरूको महत्वपूर्ण दायित्व भएको बताउनुभयो। ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले शिविर आयोजना गर्न लागिएको उल्लेख गर्दै उहाँले स्थानीय बासिन्दालाई शिविरबाट लाभ लिन आग्रह गर्नुभयो।

वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश राउतले सो शिविरका लागि गर्नु पर्ने तयारी र समन्वयका कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

त्यस्तै, लायन्स क्लब अफ विराटनगर युनिकका अध्यक्ष थनेन्द्र खतिवडा (समीर) ले सामाजिक सेवाको भावनालाई व्यवहारमा उतार्दै दुई संस्थाको सहकार्यमा शिविर आयोजना गर्न लागिएको बताउनुभयो। उहाँले समुदायको स्वास्थ्य र हितलाई प्राथमिकतामा राखेर सञ्चालन गर्न लागिएको अभियानबाट स्थानीय बासिन्दा लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो।

लायन्स इन्टरनेसनल, डिस्ट्रिक्ट ३२५ सी, एमडी ३२५ नेपालअन्तर्गत लायन्स वर्ष २०२६–२०२७ को कार्यक्रमका रूपमा आयोजना हुन लागेको शिविर दुवै दिन बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ।

लायन्स क्लब, स्वास्थ्य संस्था र स्थानीय सरकारबीचको सहकार्यमा हुन लागेको शिविरले स्थानीय नागरिकलाई स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर प्रदान गर्नुका साथै समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धिमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

View : 784

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved