काठमाडौं । नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनाबारे तत्काल निष्पक्ष न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ।
मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि उच्चस्तरीय सर्वस्वीकार्य आयोग गठन गर्न माग गरिएको हो। कांग्रेसले यसअघि सरकारी संयन्त्र मात्र राखेर गठन गरिने आयोगले सरकारका कमजोरी लुकाउने आशंका व्यक्त गरेको र अहिले समयले उक्त आशंका सही साबित गरेको दाबी गरेको छ।
घटनाको निष्पक्ष छानबिन र सम्झौता कार्यान्वयनको माग गर्दै विगत १२ दिनदेखि अनशनरत विनय यादवको स्वास्थ्य अवस्था गम्भीर बन्दा समेत सरकारले चासो नदेखाएको भन्दै कांग्रेसले चिन्ता व्यक्त गरेको छ।
कांग्रेसले देवानगञ्ज–कप्तानगञ्जलगायत क्षेत्रमा राज्यको दमनका कारण निर्दोष नागरिकले ज्यान गुमाएको र निजी सम्पत्तिमा आगजनी तथा तोडफोडबाट ठूलो क्षति भएको दाबी गरेको छ। सरकारले पीडित पक्षसँग गरेको सम्झौता कार्यान्वयन नगर्दा स्थानीय समुदायमा आक्रोश बढिरहेको भन्दै कांग्रेसले तत्काल सम्झौता कार्यान्वयन गर्न माग गरेको छ।
त्यस्तै, चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी, निजामती कर्मचारी, राहत शिक्षक, यातायात व्यवसायी, दुग्ध तथा उखु किसान, मिटरब्याज पीडितलगायत विभिन्न समूहसँग सरकारले गरेका सहमति तत्काल कार्यान्वयन गर्न पनि कांग्रेसले माग गरेको छ।
सरकारले पटक–पटक सहमति गर्ने तर त्यसको इमानदार कार्यान्वयन नगर्ने प्रवृत्तिले सरकारप्रति अविश्वास बढाएको कांग्रेसको निष्कर्ष छ। यस्तो अवस्थाले समाजमा निराशा बढाउँदै ‘राज्य नागरिकको अभिभावक हो’ भन्ने विश्वास कमजोर बनाउँदै गएको कांग्रेसले जनाएको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको छ।
View : 3
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved