प्राविधिक शिक्षामा अवसर
विराटनगर - प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषदले शैक्षिक सत्र २०८३/०८४ का लागि स्वास्थ्य प्राविधिक विषयतर्फ निशुल्क छात्रवृत्तिमा अध्ययन गर्ने अवसर खुला गरेको छ। परिषद्ले सरकारी तथा सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूलाई लक्षित गर्दै डिप्लोमा तहअन्तर्गत विभिन्न स्वास्थ्य कार्यक्रमका लागि छात्रवृत्ति आवेदन आह्वान गरेको हो।
परिषद्का अनुसार यस वर्ष देशभर १६५५ विद्यार्थीले निशुल्क स्वास्थ्य प्राविधिक शिक्षा अध्ययन गर्ने अवसर पाउनेछन्। तीमध्ये कोशी प्रदेशका मात्रै ३७५ विद्यार्थी लाभान्वित हुने जनाइएको छ। स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले परिषद्ले हरेक वर्ष अनिवार्य छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको छ।
छात्रवृत्तिअन्तर्गत पिसिएल नर्सिङ, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, डि–फार्मेसी, फिजियोथेरापी, अप्थाल्मिक साइन्स तथा रेडियोग्राफी कार्यक्रम समावेश गरिएको छ। कोशी प्रदेशमा पिसिएल नर्सिङतर्फ ३३, सामान्य चिकित्सातर्फ ७५, मेडिकल ल्याब टेक्नोलोजीतर्फ ५०, डि–फार्मेसीतर्फ ५४, फिजियोथेरापीतर्फ १५, अप्थाल्मिक साइन्सतर्फ ६ तथा रेडियोग्राफीतर्फ १६ विद्यार्थीले छात्रवृत्ति पाउने परिषद्ले जनाएको छ।
परिषद्बाट सम्बन्धन प्राप्त शिक्षालयहरूमा स्वीकृत कोटाको १० प्रतिशत सिटमा अनिवार्य रूपमा निशुल्क छात्रवृत्ति प्रदान गर्ने व्यवस्था छ। जसमध्ये ७५ प्रतिशत वर्गीकृत छात्रवृत्ति र २५ प्रतिशत जेहेन्दार छात्रवृत्तिअन्तर्गत वितरण गरिन्छ। परिषद्का अनुसार आर्थिक अवस्था कमजोर भएका, पिछडिएका समुदाय तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको हो।
हरेक बर्ष १०% छात्रवृत्ति उपलब्ध हुने गरेको र निजि तथा साझेदार शिक्षालयहरूले आफ्नै आन्तरिक स्रोतबाट छात्रवृत्ति उपलब्ध गराउने गरेका छन । परिषद्का अनुसार यस वर्ष निजी तथा साझेदारी शिक्षालयहरूले स्वास्थ प्राबिधिक जनशक्ति उत्पादन गर्ने क्षेत्रमा करिब ६५ करोड रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराउनेछन्।
स्वास्थ्य प्राविधिक विषय अध्ययन गर्न इच्छुक विद्यार्थीहरूले न्यूनतम दुई जीपीए ल्याई एसईई उत्तीर्ण गरेको हुनुपर्नेछ। आवेदन फाराम आगामी जेठ १३ गतेसम्म अनलाइनमार्फत भर्न सकिने परिषद्ले जनाएको छ।
कोशी हेल्थ ईन्स्टिच्युटका प्रशिक्षक सुधन पौडेलले छात्रवृत्ति कार्यक्रमले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि ठूलो अवसर सिर्जना गर्ने बताए। “प्राविधिक शिक्षा महँगो हुने भएकाले धेरै विद्यार्थी आर्थिक कारणले पढाइबाट वञ्चित हुने अवस्था छ,” उनले भने, “यस्ता छात्रवृत्तिले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नुका साथै ग्रामीण तथा विपन्न समुदायका विद्यार्थीलाई समेत उच्च शिक्षामा पहुँच विस्तार गर्न सहयोग पुर्याउँछ।”
उनका अनुसार पछिल्ला वर्षहरूमा स्वास्थ्य प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ्दो छ। विशेषगरी पिसिएल नर्सिङ, ल्याब, फार्मेसी र सामान्य चिकित्सा अध्ययन गरेका विद्यार्थीले देशभित्र मात्रै नभई विदेशमा समेत रोजगारीका अवसर प्राप्त गरिरहेका छन्।
स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको माग बढिरहेका बेला परिषद्को यो कार्यक्रमले स्वास्थ्य शिक्षामा पहुँच विस्तारसँगै सामाजिक समावेशितालाई समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ।
View : 84
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved