Biratnagar, Morang, Nepal
राजनीति

आगामी निर्वाचनका लागि रौतहटमा सुरक्षा व्यवस्था कडाः सेनासहितको संयुक्त टोली गस्तीमा

-
अखवारका कुरा
२७ माघ २०८२, मङ्गलवार

Advertisement

रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष बनाउन रौतहट जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा सुरक्षा निकायले आफ्नो सक्रियतालाई व्यापक बनाएका छन् ।
नेपाल सरकार र गृह मन्त्रालयको विशेष निर्णयअनुसार यसपटक निर्वाचनभन्दा झण्डै एक महिना अगावै नेपाली सेनालाई सुरक्षाका लागि मैदानमा उतारिएको छ । विगतका निर्वाचनहरूमा मतदानको केही दिनअघि मात्रै सेना परिचालन हुने परम्परा रहे पनि यसपटक ‘एकीकृत सुरक्षा योजना २०८२’ अन्तर्गत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले विशेष गस्ती सुरु गरेको हो ।
विशेषगरी रौतहट निर्वाचन क्षेत्र नम्बर ४ मा सुरक्षा निकायको सक्रियता निकै बढाइएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख, प्रहरी नायब उपरीक्षक रूपा लाबुङका अनुसार मतदाता, उम्मेदवार र निर्वाचनमा खटिने कर्मचारीहरूलाई सुरक्षाको पूर्ण प्रत्याभूति गराउन तिनै वटा सुरक्षा निकायको संयुक्त टोलीले दैनिक रूपमा पैदल तथा मोबाइल गस्ती (पेट्रोलिङ) गरिरहेको छ ।
‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनु हाम्रो मुख्य उद्देश्य हो ।’ डीएसपी लाबुङले भनिन, ‘सम्भावित डर–त्रास हटाउन र सुरक्षा चुनौतीको सामना गर्न सेनासहितको टोलीले नियमित निगरानी गरिरहेको छ ।’
सुरक्षा निकायले जिल्लाका भौगोलिक विकटता र विगतका निर्वाचनका घटनाहरूलाई आधार मानी ‘अति संवेदनशील’ र ‘संवेदनशील’ क्षेत्रहरूको पहिचान गरी विशेष निगरानी बढाएको छ । संयुक्त टोलीले मतदान स्थलहरूको भौतिक अवस्था, प्रवेश तथा निकास मार्ग र सुरक्षाका सम्भावित चुनौतीहरूको समेत सूक्ष्म विश्लेषण गरिरहेको जनाइएको छ ।

View : 28

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved