Biratnagar, Morang, Nepal
राजनीति

निर्वाचन सफल बनाउन भारतलगायत छिमेकी राष्ट्रहरुको ठूलो सहयोग छ :आयोग

-
अखवारका कुरा
२० फागुन २०८२, बुधवार

Advertisement

काठमाडौं । गत भदौमा भएको जेनजी आन्दोलनपछि फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई नेपालमा ऐतिहासिक र अर्थपूर्ण रूपमा हेरिएको छ । यस निर्वाचनलाई छिमेकी मुलुक भारतले समेत निकै महत्व र चासोका साथ हेरिरहेको छ ।

एएनआईका अनुसार निर्वाचनको तयारी अन्तिम चरणमा पुग्दा भारतले नेपाललाई आवश्यक सहयोग प्रदान गरेको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार भारत सरकारले नेपाल सरकारलाई ठूलो संख्यामा सवारीसाधन उपलब्ध गराएको छ, जसलाई निर्वाचन प्रयोजनका लागि प्रयोगमा ल्याइएको छ ।

घिमिरेले एएनआईसँग कुरा गर्दै भने, ‘भारत हाम्रो महत्वपूर्ण छिमेकी राष्ट्र हो । उसले हाम्रो चुनावमा सहजता थप्न करिब ८७ वटा गाडि उपलब्ध गराएको छ । हामीले अघिल्ला निर्वाचनहरु देखि नै निरन्तर रूपमा भारतबाट सहयोग प्राप्त गर्दै आएका छौँ । भारत सरकारले नेपाल सरकारमार्फत निर्वाचनका लागि ठूलो संख्यामा सवारीसाधन उपलब्ध गराएको छ, जुन अहिले निर्वाचन कार्यमा प्रयोग भइरहेका छन् ।’

उनले सुरक्षा दृष्टिकोणबाट पनि भारतले सहयोग गरिरहेको जानकारी दिए । ‘निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै भारतसँग सिमाना जोडिएका केही क्षेत्रहरूमा सीमाना सिल गरिएको छ,’उनले भने ।

भारतबाहेक अन्य छिमेकी राष्ट्रहरूबाट पनि सहयोग प्राप्त भइरहेको आयोगले जनाएको छ । घिमिरेका अनुसार चीन, कोरिया र जापानले पनि नेपाल सरकारमार्फत विभिन्न प्रकारको सहयोग उपलब्ध गराइरहेका छन् ।

निर्वाचन आयोगका अनुसार ५ मार्च बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । यस निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६८९ जना मतदाता सहभागी हुनेछन् । यस पटक करिब ११ लाख नयाँ मतदाता थपिएका छन् । नयाँ मतदातालाई मतदान प्रक्रिया सम्बन्धी जानकारी दिन वडा तहसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको आयोगले जनाएको छ ।

देशभर १० हजार ९६७ मतदान स्थल अन्तर्गत २३ हजार ११२ मतदान केन्द्र स्थापना गरिएको छ । मतदाताको सुविधा र सुरक्षालाई ध्यानमा राखेर आवश्यक व्यवस्थापन गरिएको निर्वाचन आयोगले जनाएको छ । एएनआई

View : 37

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved