Biratnagar, Morang, Nepal
देश

दशौं राष्ट्रिय खेलकुदको तयारी पूरा, औपचारिक उद्घाटन प्रधानमन्त्रीले गर्ने

-
अखवारका कुरा
८ मंसिर २०८३, सोमवार

Advertisement

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । सोमबार रंगशालाको उद्घाटन एवम हस्तान्तरण गरिएको छ । प्रतिस्पर्धा मंगलबारदेखि हुनेछ ।

 

प्रतियोगिताको औपचारिक उद्घाटन हुनुभन्दा आठ दिनअघि नै विभिन्न ६ खेलका प्रतिस्पर्धा सुरु हुन लागेका हुन् । खेल सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको आयोजकले जनाएको छ ।

 

प्रतियोगितामा पदक जित्ने लक्ष्यसहित खेलाडीहरू बन्द प्रशिक्षणमा जुटिरहेका छन्। सीमित स्रोतसाधन र पूर्वाधारबीच पनि उत्कृष्ट प्रदर्शन गर्ने तयारीमा रहेका खेलाडीले यसपटक दोहोरो अंकमा पदक जित्ने लक्ष्य राखेका छन्।

 

राष्ट्रियस्तरका प्रतिस्पर्धीलाई चुनौती दिन शारीरिक अभ्याससँगै खेल कौशल निखार्न व्यस्त खेलाडीहरू प्रतियोगितामा आफ्नो क्षमता प्रमाणित गर्ने अवसरको प्रतीक्षामा छन्।

 

तर, आवश्यक खेल सामग्री, प्रशिक्षण र पूर्वाधारको अभावले तयारी सहज भने नभएको उनीहरूको अनुभव छ।

 

मंगलबारदेखि सुरु हुने खेलहरूको व्यवस्थापकीय तथा प्राविधिक तयारी पूरा भएको आयोजकले जनाएको छ । सुर्खेतको कर्णाली प्रदेश रङ्गशालासहित बाँके र बर्दियामा पनि केही खेल सञ्चालन हुनेछन्।

 

बाँकेको नेपालगञ्जमा पौडी तथा बर्दियामा टेनिस प्रतियोगिता सञ्चालन हुनेछ। सुर्खेतमा फुटबल, महिला तथा पुरुष क्रिकेट, महिला बास्केटबललगायत खेलका प्रतिस्पर्धा हुनेछन्। प्रतियोगिताका खेलहरू चरणबद्ध रूपमा सञ्चालन गर्दै लगिने आयोजकको तयारी छ।

 

दशौं राष्ट्रिय खेलकुदका कुल ३२ खेल कर्णाली र लुम्बिनी प्रदेशका सात जिल्लामा सञ्चालन हुँदैछन्। तीमध्ये २३ खेल सुर्खेतमा आयोजना हुनेछन्। कर्णालीका दैलेख, कालीकोट, सल्यान र पश्चिम रुकुम तथा लुम्बिनीका बाँके र बर्दियामा पनि खेल सञ्चालन गरिनेछ।

 

आगामी मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतियोगिताको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ। उद्घाटनअघि नै सुरु हुने खेलका प्रतिस्पर्धा त्यसअघि नै सम्पन्न हुने गरी तालिका बनाइएको छ।

 

प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए)गरी ११ टोलीका खेलाडी सहभागी हुनेछन्।

 

३८४ इभेन्ट्समा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता मंसिर २७ गते समापन हुनेछ।

View : 158

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved