Biratnagar, Morang, Nepal
शिक्षा

सांस्कृतिक प्रस्तुति र सम्मानसहित अर्किड कलेजको स्वागत कार्यक्रम सम्पन्न

-
अखवारका कुरा
२५ जेठ २०८३, सोमवार

Advertisement

विराटनगर । विराटनगरस्थित अर्किड कलेजले कक्षा ११ मा भर्ना भएका ८ सय नयाँ विद्यार्थीलाई भव्य स्वागत गरेको छ । 

सोमबार विराटनगरस्थित सिटी पार्टी प्यालेसमा आयोजित स्वागत तथा अभिमुखीकरण कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा कलेज व्यवस्थापनको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा कलेजले नयाँ विद्यार्थीलाई उच्च शिक्षासँगै नेतृत्व विकास, व्यक्तित्व निर्माण र व्यावहारिक दक्षतामा केन्द्रित शिक्षण प्रणालीबारे जानकारी दिएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै कलेजका प्रिन्सिपल मनिष भट्टराईले आधुनिक शिक्षाको उद्देश्य केवल शैक्षिक प्रमाणपत्र हासिल गर्नु मात्र नभई विद्यार्थीलाई जीवनका चुनौती सामना गर्न सक्षम बनाउनु रहेको बताए । उनले विद्यार्थीलाई पाठ्यपुस्तकको सीमाभन्दा बाहिर गएर ज्ञानको खोजी गर्न, अनुसन्धानमुखी सोच विकास गर्न तथा अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता जनाउन आग्रह गरे ।

त्यस्तै, कलेजका निर्देशक दिपेश बास्तोलाले अर्किडले विद्यार्थीलाई परीक्षामुखी शिक्षाभन्दा बाहिर लैजाँदै रोजगार, उद्यमशीलता र नेतृत्व क्षमतासहित दक्ष जनशक्ति तयार पार्ने लक्ष्यसहित काम गरिरहेको बताए ।

कार्यक्रमको अध्यक्षता गर्दै कलेजका अध्यक्ष अमित ढकालले स्थापना कालदेखि नै अर्किडले गुणस्तरीय शिक्षा प्रदान गर्दै समाज र राष्ट्रका लागि आवश्यक दक्ष मानव संसाधन उत्पादनमा योगदान पुर्‍याउँदै आएको उल्लेख गरे । उनले नयाँ विद्यार्थीलाई कलेज परिवारमा स्वागत गर्दै आगामी दुई वर्षलाई उपलब्धिमूलक बनाउन आग्रह गरे ।

कार्यक्रममा शिक्षक मनोज तिवारीले प्रेरणादायी मन्तव्य राख्दै विद्यार्थीलाई लक्ष्यप्रति दृढ रहन र निरन्तर मेहनतमार्फत सफलता हासिल गर्न प्रेरित गरे ।

त्यसैगरी, शिक्षक सिद्धार्थ साहले देशप्रेम झल्किने गीत प्रस्तुत गर्दै कार्यक्रमलाई भावनात्मक र उत्साहपूर्ण बनाएका थिए ।

कार्यक्रमको सञ्चालन शिक्षक कविराज दाहालले गरेका थिए ।

कार्यक्रममा प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो । साथै विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक नृत्य, गायन तथा सिर्जनात्मक प्रस्तुतीले समारोहलाई थप आकर्षक बनाएको थियो ।

View : 35

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved