काठमाडौं।श्रम संस्कृति पार्टीका सभापति तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले देशप्रेम र पहिचानप्रतिको संवेदनशीलता जागृत गर्नुपर्नेमा जोड दिएका छन्।
पार्टी संगठन विस्तार तथा प्रवेश कार्यक्रममा बोल्दै साम्पाङले विदेशमा बसेर देशका लागि अथक परिश्रम गरिरहेका प्रवासी नेपालीप्रति सम्मान व्यक्त गर्दै स्वदेशमा बस्नेहरूले पनि मातृभूमिप्रतिको कर्तव्यबोध कायम राख्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘जब हामी ढुंगा छुन्छौं, माटो छुन्छौं, पानी र हावा छुन्छौं, यी सबैले देशको सम्झना गराओस् । हिमाल–पहाड देख्दा देशप्रेम जागोस् । करिब १ करोड नेपाली आज विदेशमा छन्, उनीहरूले पठाएको रेमिट्यान्सले नै देश चलिरहेको छ । हामीले आज यही भूमिबाट ती सबै प्रवासी दाजुभाइ–दिदीबहिनीलाई सम्झिएका छौं ।’
साम्पाङले स्वदेशमा बसेर देशलाई कत्तिको सम्झिन्छौँ भन्ने आत्ममूल्यांकन गर्नुपर्ने आवश्यकता समेत दोहोर्याए । ‘प्रवासीले त देश सम्झिरहेका छन्, तर हामी स्वदेशमा बस्नेहरूले उनीजति देशलाई सम्झिरहेका छौं कि छैनौं ?’ उनले प्रश्न गरे ।
कार्यक्रममा उनले प्रत्येक नेपालीले मातृभूमिसँगको सम्बन्धलाई हरेक पल अनुभूत गर्न सक्नुपर्नेमा जोड दिएका थिए ।उनले भने, ‘प्रत्येक पल त्यो विदेशीले आफ्नो देश सम्झिरहोस् । प्रदेशीले यो देशलाई सम्झिरेको छ तर यो देशमा बस्ने हामीहरुले सम्झेका छौं की छैनौं ? त्यसैले हरेक पल यो माटोलाई, यो देशलाई सम्झन सकौं ।’
View : 24
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved