काठमाडौं । नेपालमा पहिलोपटक अत्याधुनिक ‘कार–टी सेल (ऋब्च्–त् ऋभिि) थेरापी’ सेवा सुरु हुने भएको छ ।
क्यान्सर उपचारको क्षेत्रमा विश्वमै ‘क्रान्तिकारी’ मानिएको यो प्रविधि विशेषगरी ब्लड क्यान्सरका बिरामीका लागि प्रभावकारी उपचारका रूपमा स्थापित हुँदै गएको छ । यससँगै उपचारका लागि भारत, चीन तथा अन्य मुलुक जान बाध्य नेपाली बिरामीले अब स्वदेशमै यो सुविधा पाउने भएका छन् ।
भक्तपुरको नाला रोडमा रहेको ‘काठमाडौं क्यान्सर सेन्टर’का एमडी क्लिनिकल ओन्कोलोजिस्ट डा.सिमित सापकोटाका अनुसार कार–टी सेल थेरापी क्यान्सर उपचारको क्षेत्रमा विकसित भएको पछिल्लो पुस्ताको व्यक्तिगत इम्युनोथेरापी हो।
नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले यो प्रविधि परम्परागत किमोथेरापी, रेडियोथेरापी तथा सामान्य इम्युनोथेरापीभन्दा फरक र अत्यन्तै लक्षित उपचार भएको बताए ।
उनका अनुसार अहिलेसम्म क्यान्सर उपचारका मुख्य विधिका रुपमा शल्यक्रिया, रेडियोथेरापी, किमोथेरापी तथा इम्युनोथेरापी प्रयोग हुँदै आएका छन् । कार–टी सेल थेरापी भने बिरामीकै प्रतिरक्षा प्रणालीलाई शक्तिशाली बनाएर क्यान्सरविरुद्ध प्रयोग गर्ने अत्याधुनिक विधि हो ।
उनले भने,‘यसमा हामी बिरामीको रगतबाट टी–सेल नामक प्रतिरक्षा कोष निकाल्छौँ । त्यसपछि विशेष जेनेटिक इन्जिनियरिङमार्फत ती कोषमध्ये क्यान्सरका कोष पहिचान गरी नष्ट गर्न सक्नेगरी विकसित गरिन्छ । तयार पारिएका ती कोषहरू पुनः बिरामीको शरीरमा प्रविष्ट गराइन्छ र त्यसपछि तिनले क्यान्सरविरुद्ध लड्ने काम गर्छन्।’
ल्यूकेमिया र लिम्फोमामा उल्लेखनीय सफलता
डा. सापकोटाका अनुसार हाल विश्वभर कार–टी सेल थेरापीले विशेषगरी बी–सेल लिम्फोमा र एक्युट बी–सेल ल्युकेमियाका बिरामीमा अत्यन्तै राम्रो नतिजा दिएको छ । विशेषगरी किमोथेरापीपछि पनि निको नभएका वा उपचारपछि पुनः क्यान्सर फर्किएका बिरामीमा यो उपचार प्रभावकारी देखिएको छ।
‘यो पहिलो चरणको उपचार होइन, सामान्यतया किमोथेरापी वा अन्य उपचारपछि रोग पुनः फर्किएको अवस्थामा प्रयोग गरिन्छ । रिल्याप्स वा रिफ्र्याक्टरी लिम्फोमा तथा ल्यूकेमियाका बिरामीमा यसको सफलता उल्लेखनीय छ।’
उनका अनुसार अन्तर्राष्ट्रिय अध्ययनहरूले देखाएअनुसार यस्ता बिरामीमध्ये ६० देखि ७० प्रतिशतसम्ममा पूर्ण प्रतिक्रिया प्राप्त भएको छ, अर्थात् क्यान्सर पूर्ण रूपमा हराउने अवस्था देखिएको छ ।
उपचार प्रक्रिया तीन सातासम्म चल्ने
कार–टी सेल थेरापीको प्रक्रिया अन्य उपचारभन्दा जटिल र समय लाग्ने खालको हुन्छ । बिरामीको रगत संकलन गरेपछि त्यसलाई विशेष प्रयोगशालामा पठाइन्छ, जहाँ टी–सेलहरूलाई जेनेटिक रूपमा परिमार्जन गरिन्छ । यो प्रक्रिया पूरा हुन करिब तीन हप्ता लाग्न सक्छ ।
त्यस अवधिमा बिरामीलाई आवश्यकतानुसार किमोथेरापीसमेत दिइन्छ । तयार पारिएका कार–टी सेलहरू पुनः शरीरमा प्रविष्ट गराएपछि बिरामीलाई विशेष निगरानीमा राखिन्छ ।
‘उपचारपछि संक्रमणको जोखिम उच्च हुने भएकाले बिरामीलाई कम्तीमा १० देखि १४ दिनसम्म अस्पतालमै राखिन्छ । यसका लागि विशेष आइसोलेसन वार्ड निर्माण गरेका छौँ। बिरामीलाई पूर्ण निगरानीमा राखेर उपचार गरिन्छ ।’
उनका अनुसार प्रारम्भिक दुई सातापछि अवस्था सामान्य भएमा बिरामी घर फर्किन सक्छन् र नियमित फलोअपमार्फत स्वास्थ्य अवस्थाको निगरानी गरिन्छ ।
साइड इफेक्ट भएपनि व्यवस्थापन सम्भव
कुनैपनि उपचारजस्तै कार–टी सेल थेरापीका पनि केही साइड इफेक्ट हुन्छन् । डा. सापकोटाका अनुसार मुख्य रूपमा स्नायू प्रणालीसँग सम्बन्धित समस्या तथा ‘साइटोकाइन रिलिज सिन्ड्रोम’ जस्ता जटिलता देखिन सक्छन्।
तर पछिल्ला वर्षमा प्रविधि परिष्कृत हुँदै जाँदा यस्ता जोखिम उल्लेखनीय रूपमा घटेको उनले बताए ।
उनले भने,‘नयाँ पुस्ताको कार–टी सेल थेरापीमा साइड इफेक्टहरू पहिलेको तुलनामा निकै कम छन् । साथै सम्भावित जटिलता पहिचान र उपचारका लागि आवश्यक सम्पूर्ण तयारी अस्पतालमा उपलब्ध छ ।’
उनका अनुसार अधिकांश साइड इफेक्ट उपचारपछिका पहिलो दुई साताभित्र देखिन्छन्। त्यस अवधिमा कुनै समस्या नदेखिए दीर्घकालीन जटिलता हुने सम्भावना न्यून हुन्छ ।
विश्वका सीमित मुलुकमा मात्र उपलब्ध
कार–टी सेल थेरापी अहिले पनि विश्वका सीमित मुलुकमा मात्र उपलब्ध रहेको डा. सापकोटाले बताए । उनका अनुसार करिब २० देखि २५ देशमा मात्र यो सेवा सञ्चालनमा छ ।
‘दक्षिण एशियामा भारतबाहेक अन्यत्र यो सेवा उपलब्ध छैन । नेपालमा यसको सुरुआत हुनु आफैँमा ठूलो उपलब्धि हो।’
उनका अनुसार विश्वका धेरै देशमा उपलब्ध हुन थालेको केही वर्षमै नेपालमा यो प्रविधि भित्रिनु उल्लेखनीय उपलब्धि हो । सामान्यतया नयाँ चिकित्सा प्रविधि नेपाल आउन १०–१५ वर्ष लाग्ने भए पनि कार–टी सेल थेरापी अपेक्षाकृत छिटो नेपालमा भित्रिएको छ।
उपचार खर्च अझै चुनौती
यो उपचार प्रभावकारी भए पनि महँगो छ । डा. सापकोटाका अनुसार अमेरिका र सिंगापुरमा यही उपचारका लागि करिब पाँच करोड रुपैयाँसम्म खर्च हुने गर्छ। भारतमा समेत यसको लागत ८० देखि ९० लाख रुपैयाँसम्म पुग्छ।
नेपालमा भने बिरामीको आर्थिक क्षमता ध्यानमा राख्दै ६० देखि ६५ लाख रुपैयाँको हाराहारीमा उपचार उपलब्ध गराउने व्यवस्था गरिएको उनले बताए। प्रारम्भिक चरणका केही बिरामीलाई विशेष सहुलियतसहित ४० देखि ४५ लाख रुपैयाँमा समेत उपचार उपलब्ध गराउने तयारी रहेको उनले जानकारी दिए।
अन्तर्राष्ट्रिय प्राविधिक सहयोग
नेपालमा यो सेवा सञ्चालन गर्न जर्मनी र भारतका विशेषज्ञ टोलीसँग सहकार्य गरिएको छ । जर्मनीस्थित विशेषज्ञ समूह तथा मुम्बईको क्यान्सर उपचार टोलीबाट प्राविधिक सहयोग प्राप्त भइरहेको डा. सापकोटाले बताए ।
उनले नयाँ प्रविधि भएकाले चुनौतीहरू स्वाभाविक भए पनि अन्तर्राष्ट्रिय अनुभव र स्थानीय विशेषज्ञताको संयोजनले उपचारलाई सुरक्षित र प्रभावकारी बनाउन मद्दत पुगेको बताए।
बढ्दो क्यान्सर भार र नेपालको चुनौती
नेपालमा क्यान्सरका बिरामीको संख्या निरन्तर बढिरहेको भन्दै डा. सापकोटाले विशेष चिन्ता युवा उमेर समूहमा देखिएको बताए । उनका अनुसार ४० वर्षभन्दा कम उमेरका नेपालीमा क्यान्सरको दर अन्य धेरै मुलुकको तुलनामा उल्लेखनीय रूपमा बढी देखिएको छ ।
धूम्रपान, मद्यपान, वातावरणीय प्रदूषण, अस्वस्थ जीवनशैली तथा खानपान लगायतका कारणले क्यान्सरको जोखिम बढिरहेको उनको भनाइ छ।
क्यान्सर नियन्त्रणका लागि उपचार मात्र पर्याप्त हुँदैन,’ उनले भने, ‘रोकथाम, स्क्रिनिङ, खोप कार्यक्रम, समयमै परीक्षण र आधुनिक उपचार प्रणालीलाई सँगसँगै अघि बढाउनुपर्छ ।’
उनले सरकारी तथा निजी क्षेत्रबीच सहकार्यको आवश्यकता औँल्याउँदै क्यान्सर उपचारको सम्पूर्ण भार सरकारी अस्पतालले मात्र थेग्न नसक्ने बताए । स्वास्थ्य बीमा कार्यक्रमलाई पनि दीर्घकालीन रूपमा पुनः प्रभावकारी बनाउनुपर्ने उनको धारणा छ ।
डा. सापकोटाले नेपालमा कार–टी सेल थेरापीको सुरुआतलाई क्यान्सर उपचार क्षेत्रमा ऐतिहासिक उपलब्धिको रूपमा वर्णन गर्दै यसले भविष्यमा हजारौँ नेपाली बिरामीलाई स्वदेशमै विश्वस्तरीय उपचार उपलब्ध गराउने विश्वास व्यक्त गरे ।
उनले भने,‘हामीले सधैँ विदेशको मुख ताक्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ भन्ने सोचका साथ यो सेवा सुरु गरेका हौं । अब नेपाली बिरामीले आफ्नै देशमा अन्तर्राष्ट्रिय स्तरको उपचार पाउने वातावरण बन्दै गएको छ ।’
View : 7
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved