Biratnagar, Morang, Nepal
स्वास्थ

नयाँ सरकार विस्तार

नयाँ सरकार विस्तार : स्वास्थ्य मन्त्रालयमा डा. यादवको नाम चर्चामा

-
अखवारका कुरा
१० असोज २०८२, शुक्रवार

Advertisement

विराटनगर । जेनजी आन्दोलनपछि बनेको नयाँ सरकार विस्तारतर्फ अघि बढिरहेको छ। मन्त्रिपरिषद्मा पार्टीगत भागबण्डाभन्दा बाहिरका प्रतिष्ठित व्यक्तित्वलाई सामेल गर्ने प्रयासलाई जनताले चासोका साथ हेरेका छन्। विशेषगरी स्वास्थ्य मन्त्रालय कसले पाउने भन्ने प्रश्न अहिले प्रमुख बहसको केन्द्रमा छ।

यसैबीच, स्वास्थ्य मन्त्रालयको सम्भावित जिम्मेवारीबारे चर्चामा आएका नाममध्ये विराटनगरका वरिष्ठ शल्य चिकित्सक प्रा. डा. रोहित प्रसाद यादव अगाडि देखिएका छन्। कोशी प्रदेशस्थित सर्जन सोसाइटी अफ नेपाल का अध्यक्ष र विराट मेडिकल कलेजको सर्जरी विभाग प्रमुखसमेत रहेका यादवसँग चिकित्सा क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव छ।

स्वास्थ्य क्षेत्रमै योगदान पुर्‍याउँदै आएका यादव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS) का कुलपति चयन प्रक्रियामा पनि शीर्ष तीन उम्मेदवारभित्र पर्न सफल भएका थिए। उनको स्वच्छ छवि र निर्विवाद व्यावसायिक यात्रा उनको पक्षमा बलियो आधारका रूपमा देखिन्छ।

युवा पुस्ताले खुलेर समर्थन गरेको जेनजी आन्दोलनमा सार्वजनिक रूपमा साथ दिने व्यक्तित्वका रूपमा समेत उनी चर्चित छन्। राजनीतिक प्रभावभन्दा टाढै रहेर सेवामुखी भूमिकामा सक्रिय रहँदै आएका यादव स्वास्थ्य मन्त्रालयमा पुगेमा सुधारको स्पष्ट दृष्टि दिन सक्ने अपेक्षा गरिएको छ।

यद्यपि, अन्तिम निर्णय आउन बाँकी छ। तर स्वास्थ्य नेतृत्वमा उनको नाम चासोको विषय बन्नुले जनतामाझ नयाँ सरकारप्रतिको अपेक्षा र विश्वास दुवैलाई प्रकट गरेको छ।

View : 3057

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved