Biratnagar, Morang, Nepal
देश

विश्व हाँसो दिवस : अब हाँस्ने छन् सहकारी पीडित

२० वैशाख २०८३, आइतवार

Advertisement

काठमाडौं । आज विश्व हाँसो दिवस । हाँसोको महत्त्व सम्झाउने, जीवनका कठिन क्षणहरूमा पनि आशा जगाउने दिन । संयोग नै भनौं यही दिनसँगै नेपालमा एक यस्तो सन्देश जोडिएको छ, जसले हजारौँ सहकारी पीडितहरूको अनुहारमा फेरि मुस्कान फर्काउने अपेक्षा जगाएको छ ।
करीब एक महिना आठ दिनअघि बालेन्द्र शाह(बालेन) नेतृत्वमा गठन भएको सरकारले १०० बुँदे शासकीय सुधार कार्यसूची सार्वजनिक गर्यो । तीमध्ये ९९औँ बुँदामा सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ता प्रक्रिया १०० दिनभित्र सुरु गर्ने प्रतिबद्धता समावेश छ । वर्षौंदेखि अन्योल, पीडा र निराशामा बाँचेका बचतकर्ताका लागि यो केवल नीति घोषणा होइन आशाको पुनर्जागरण हो ।
सरकारले समस्याग्रस्त सहकारी संस्थाहरूको बचत फिर्ता सुनिश्चित गर्न ‘चक्रीय कोष स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०८३’ जारी गरिसकेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत राजपत्रमा प्रकाशित यो कार्यविधिले सहकारी पीडितहरूको पक्षमा ठोस आधार तयार गरेको छ ।
यस कार्यविधिअनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिअन्तर्गत एक चक्रीय कोष रहनेछ, जसमा नेपाल सरकारबाट प्राप्त रकम, संस्थाको सम्पत्ति बिक्रीबाट आएको रकम, तथा अपचलनमा संलग्न व्यक्तिहरूबाट असुल गरिएको धनराशि जम्मा गरिनेछ । अझ महत्वपूर्ण कुरा यदि यतिले पनि बचतकर्ताको रकम फिर्ता गर्न पर्याप्त नहुने अवस्था आयो भने, दोषी व्यक्तिहरूले अन्य माध्यमबाट हस्तान्तरण गरेका सम्पत्तिसमेत रोक्का गरेर लिलाम गर्न सकिने व्यवस्था गरिएको छ ।
यो व्यवस्थाले स्पष्ट सन्देश दिन्छ अब अन्याय लुकाएर बस्न पाइँदैन । सहकारीको नाममा सर्वसाधारणको पसिना र भविष्यसँग खेलबाड गर्नेहरूलाई कानूनको कठघरामा ल्याइनेछ ।
बचत फिर्ता प्रक्रिया पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले दाबी निवेदन दिएका बचतकर्ताहरूलाई बैंक खातामार्फत रकम फिर्ता गरिनेछ । सहकारी समस्याग्रस्त घोषणा हुनुअघि सम्मको अभिलेखलाई आधार मानेर रकम निर्धारण गरिने व्यवस्था गरिएको छ, जसले अनियमितता र दोहोरो दाबीलाई नियन्त्रण गर्नेछ ।
वर्षौंदेखि आफ्नै पैसाका लागि सडकमा संघर्ष गरिरहेका नागरिकहरूका लागि यो कदम केवल आर्थिक राहत मात्र होइन यो विश्वासको पुनस्र्थापना हो । राज्यप्रति भरोसा हराउँदै गएको समाजमा यस्तो पहलले नयाँ ऊर्जा भर्न सक्छ ।
आज, जब संसार विश्व हासो दिवस मनाइरहेको छ, नेपालमा पनि एउटा सन्देश गुञ्जिन थालेको छ ‘अब हाँस्ने पालो सहकारी पीडित’को पनि आएको छ ।
यदि यी नीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन भए, भने त्यो दिन टाढा छैन, जब सहकारी पीडितहरूको अनुहारमा फक्रिने मुस्कानले सिंगो देशलाई उज्यालो बनाउनेछ । त्यसैले आजको दिन केवल औपचारिक हाँसोको दिन मात्र होइन यो आशाको हाँसो हो । यो न्यायको हाँसो हो । र सम्भवतः अब साँच्चै, हाँस्छन् सहकारी पीडित ।
वर्षौंदेखि सहकारीको नाममा ठगिएका, आफ्नै बचतका लागि सडकमा संघर्ष गर्न बाध्य भएका हजारौँ नागरिकका लागि अब एक नयाँ अध्याय सुरु हुने संकेत देखिएको छ । अब उनीहरू हाँस्ने छन् र त्यो हाँसो केवल भावनात्मक राहत होइन, न्याय प्राप्तिको हाँसो हुनेछ ।

View : 4

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved