Biratnagar, Morang, Nepal
देश

मन्त्री परिषद विस्तार

अधिवक्ता ओमप्रकाश अर्याल मन्त्रीमा सिफारिस, गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिने तयारी

-
अखवारका कुरा
२८ भदौ २०८२, आइतवार

Advertisement

२९ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा अधिवक्ता ओमप्रकाश अर्याललाई मन्त्रीमा सिफारिस गरिएको छ । उनलाई गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिन सिफारिस भएको बुझिएको छ । प्रधानमन्त्री निवासबाट प्राप्त जानकारीअनुसार नयाँ मन्त्रीहरुको सपथ भोलि राष्ट्रपति कार्यालयमा हुने तय भएको छ ।

कानुन व्यवसायीका रूपमा परिचित अर्याल लामो समय देखि कानुनी लडाइँ र सामाजिक आन्दोलनसँग जोडिँदै आएका छन् । विभिन्न संवैधानिक र कानुनी विवादमा रिट निवेदन दायर गर्नेदेखि नागरिक आन्दोलनमा सक्रिय उपस्थिति जनाउँदै आएका उनी पछिल्लो समय काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) का कानुनी सल्लाहकारका रूपमा चर्चामा थिए ।

अर्यालले विगतमा सार्वजनिक सरोकारका मुद्दामा न्यायालयमा महत्वपूर्ण पैरवी गर्दै जनतामाझ आफ्नो पहिचान बनाएका थिए । विशेष गरी भ्रष्टाचार, पारदर्शिता र सुशासनसँग सम्बन्धित विषयमा उनी निरन्तर आवाज उठाउने व्यक्तिका रूपमा चिनिन्छन् ।

अन्तरिम सरकारलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री कार्कीले अनुभवसहितका कानुन व्यवसायीलाई मन्त्रीमा ल्याउन लागेकी हुन् । अर्याल मन्त्री बनेपछि गृह प्रशासन सुदृढीकरण र कानुनी सुधारमा उनका कदम के हुने भन्नेबारे राजनीतिक वृत्तमा चासो बढेको छ ।

View : 56

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved