विराटनगर — समाजमा बढ्दो लागूऔषध दुव्र्यसन नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विराटनगरमा बिहीबार जनचेतनामूलक र्याली आयोजना गरिएको छ। नेपालको पहिलो लायन्स क्लब ‘लायन्स क्लब अफ विराटनगर’को ५५औँ स्थापना दिवसका अवसरमा आयोजित उक्त अभियानमा विभिन्न सामाजिक संघसंस्था, पुनःस्थापना केन्द्र, स्वास्थ्यकर्मी, विद्यार्थी, प्रहरी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
लायन्स भवनबाट सुरु भएको र्याली विराटनगरका प्रमुख सडकहरू हुँदै मेनरोडस्थित जैन भवनमा पुगेर समापन भएको थियो। सहभागीहरूले ‘लागूऔषध त्यागौँ, जीवन बचाऔँ’, ‘दुव्र्यसन होइन, सिर्जनशीलता रोजौँ’ लगायतका सन्देशयुक्त प्लेकार्ड बोकेर लागूऔषधविरुद्ध जनचेतना फैलाएका थिए।
र्यालीपश्चात् आयोजित समापन समारोहमा कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूले लागूऔषध दुव्र्यसन अहिले समाजको गम्भीर चुनौतीका रूपमा देखिएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सरकार, सुरक्षा निकाय, सामाजिक संघसंस्था र परिवारबीच समन्वित सहकार्य अपरिहार्य रहेको बताए।
“लागूऔषधको समस्या केवल कानुनी विषय मात्र होइन, यो सार्वजनिक स्वास्थ्य र सामाजिक सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो,” मन्त्री लिम्बूले भने, “यसको रोकथामका लागि युवापुस्तालाई सही मार्गदर्शन, प्रभावकारी शिक्षा र निरन्तर सचेतनामूलक अभियान आवश्यक छ।”
लायन्स क्लब अफ विराटनगरका अध्यक्ष चाँदबाबु इराकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व डिस्ट्रिक्ट गभर्नर भीम घिमिरे, फूलकुमार लालवानी, कोशी प्रदेशसभा सदस्य लीलाबल्लभ घिमिरे, क्लबका पूर्वअध्यक्ष मनीष भट्टराई तथा कार्यक्रम संयोजक एवं द्वितीय उपाध्यक्ष शिवनारायण प्रधानलगायतले लागूऔषध नियन्त्रणमा समुदायको भूमिका महत्त्वपूर्ण हुने धारणा व्यक्त गरेका थिए।
वक्ताहरूले लागूऔषध दुव्र्यसनले युवाको भविष्यसँगै परिवार र समाजलाई समेत गम्भीर असर पारिरहेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि निरन्तर जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए। विशेषगरी खुला सीमा क्षेत्रबाट हुने लागूऔषध ओसारपसार नियन्त्रण गर्न सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता उनीहरूले औंल्याए।
कार्यक्रममा सहभागी वक्ताहरूले लागूऔषध प्रयोगकर्तालाई अपराधीका रूपमा मात्र नभई उपचार, परामर्श र पुनःस्थापनाको आवश्यकता भएका व्यक्तिका रूपमा हेर्नुपर्ने धारणा व्यक्त गरे। उपचार तथा पुनःस्थापना केन्द्रहरूको पहुँच र प्रभावकारिता विस्तार गर्न राज्यले विशेष प्राथमिकता दिनुपर्ने उनीहरूको भनाइ थियो।
लायन्स क्लब अफ विराटनगर, लियो क्लब अफ विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा लायन्स क्लब नेष्ट जेन, क्यान्भास पुनःस्थापना केन्द्र, रिचमण्ड फेलोसिप, विराटनगर नर्सिङ क्याम्पसलगायत विभिन्न संघसंस्थाको सक्रिय सहभागिता रहेको थियो।
अध्यक्ष इराकीले क्लबको ५५औँ स्थापना दिवसका अवसरमा सप्ताहव्यापी सामाजिक कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिँदै लागूऔषध नियन्त्रण, स्वास्थ्य सचेतना र समुदायकेन्द्रित अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए।
कार्यक्रमको अन्त्यमा प्रमुख अतिथिसहित सहभागीहरूले लागूऔषधविरुद्ध सक्रिय रूपमा लागिपर्ने प्रतिबद्धता जनाउँदै अभियानको ब्यानरमा हस्ताक्षर गरेका थिए।
View : 41
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved