Biratnagar, Morang, Nepal
राजनीति

माधव-वामदेव एकता

वाम राजनीतिमा नयाँ समीकरण : माधव–वामदेवको अंगालो, एकीकृत समाजवादीमा समाहित भए वामदेव

-
अखवारका कुरा
२ साउन २०८२, शुक्रवार

Advertisement

काठमाडौं ,श्रावण २ 

लामो समयदेखि वाम एकताको ‘नारा’ बोकेर आ–आफ्नै बाटो हिंडिरहेका माधवकुमार नेपाल र वामदेव गौतम बुधबार एउटै मञ्चमा उभिए। राष्ट्रियसभा गृहमा आयोजित समारोहमा नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र गौतमको ‘एकता राष्ट्रिय अभियान’ औपचारिक रूपमा एक भएका हुन्।

एकतापछि मञ्चमा दुवै नेता एकअर्कालाई अंगालो मार्दै हर्ष व्यक्त गर्दै थिए। त्यही क्रममा झलनाथ खनाल पनि मञ्चमा चढे र उनले पनि गौतमसँग अंकमाल गरे। समारोहमा उपस्थित नेता र कार्यकर्ताहरूले निकै ठूलो उत्साह देखाए। तर राजनीतिक वृत्तमा भने यो एकतालाई लिएर आशा र शंका दुवै सुनिन थालेका छन्।

किन छुट्टिए, किन फर्किए?

माधव नेपाल र वामदेव गौतम दुवै एमालेका पुराना पुस्ताका शिखर नेताहरू हुन्। तर केपी शर्मा ओलीसँगको असहमतिको कारण उनीहरू फरक–फरक दिशामा लागेका थिए। नेपालले  ‘एकीकृत समाजवादी’ गठन गरेका थिए भने गौतमले छुट्टै अभियान थालेर वामपन्थी ‘एकताको भोक’ जताउँदै हिँडिरहेका थिए।

एमाले विभाजनपछि नेपाल र गौतम दुवैले वाम राजनीतिमा आफ्नो हैसियत जोगाउने प्रयास गरे। तर न नेपालले आफ्नो दललाई बलियो बनाउन सके, न गौतमले आफ्नै अभियानलाई पार्टीमा परिणत गर्न सके। शक्ति क्षीण हुँदै गएको महसुस गरेपछि उनीहरू पुनः संगै उभिएका हुन्।

नयाँ शक्ति कि पुरानो शृङ्खला?

राजनीतिक विश्लेषकहरूका अनुसार यो एकता वाम राजनीतिमा नयाँ जोश ल्याउने प्रयास त हो तर चुनौती पनि थुप्रै छन्। पहिलो, अहिलेको वाम राजनीति ओली र प्रचण्डको वरिपरि केन्द्रित छ। दोस्रो, एकीकृत समाजवादीको संगठनात्मक संरचना कमजोर छ र गौतमको अभियानले अहिलेसम्म कुनै चुनावी हैसियत देखाउन सकेको छैन।

एक विश्लेषक भन्छन्, ‘‘मञ्चमा देखिएको अंगालोले मात्रै मतदाताको विश्वास फर्काउँछ भन्ने ग्यारेन्टी छैन। उनीहरूले व्यवहारमा नयाँ कुरा दिन सक्नुपर्छ।’’

अब यी दुई नेताले आफ्नो एजेन्डा र संगठनलाई के दिशा दिनेछन् र ओली–प्रचण्डको वाम वर्चस्वसँग कसरी प्रतिस्पर्धा गर्नेछन् भन्नेचाहिँ खुला प्रश्न नै छ।

अहिलेलाई भने उनीहरूको अंगालोले वाम राजनीतिमा केही तातोपन ल्याएको छ।

View : 146

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved