Biratnagar, Morang, Nepal
शिक्षा

एभरेष्ट स्काउट ट्रुपको दीक्षान्त समारोह सम्पन्न

-
अखवारका कुरा
२७ साउन २०८३, बुधवार

Advertisement

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डेरी स्कुलको एभरेष्ट स्काउट ट्रुपको आज दीक्षान्त समारोह सम्पन्न भएको छ । 

नेपाल स्काउट कोशी प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीको प्रमुख आतिथ्यतामा एभरेष्ट ट्रुपका सदस्यता तह तर्फका ३० महिला र १० पुरुष गरि ४० जना तथा बीपी पीक तहका महिला पुरुष गरि ११ जनालाई दीक्षित गरिएको हो । दिक्षितहरुलाई स्काउटका लिडरहरूले सपथग्रहण गराए । 

विद्यालयका प्रिन्सिपल तथा एभरेष्ट ट्रुपका इकाई अध्यक्ष टिकाराम पुरीको अध्यक्षतामा भएको कार्यक्रममा स्काउटका स्थानीय तह प्रमुख नविन पहाडी, विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरी, नेपाल पत्रकार महासंघ कोशीका कोषाध्यक्ष सुदिप कोइराला, विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोल लगायतको उपस्थिती थियो । 

दीक्षान्त समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथी भण्डारीले स्काउटको स्कार्फ र युनिफर्म लगाएर मात्र वास्तविक स्काउटको पहिचान नहुने भन्दै स्काउटमा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सुझाव दिए । उनले स्काउटले अनुशासन, मेहनत, संस्कार र सहयोगको भावना व्यवहारमा देखिनुपर्ने बताउनुभयो । स्काउटमा लागेका विद्यार्थीहरुले आफ्नो अध्ययनलाई अब्बल बनाउँदै हरेक दिन कम्तिमा एउटा असल काम गर्नुपर्ने बताए । 

विद्यालयका प्रिन्सिपल तथा ईकाई अध्यक्ष पुरीले स्काउटले जीवनोपयोगी सीप सिकाउने र त्यसलाई सिकेर आफु बचेर अरुलाई बचाउने स्वयंसेवी जनशक्ति उत्पादन गर्ने बताए । उनले स्काउटलाई समय, भुगोल र सम्भाव्यता अनुसारका सीप सिकाउने थलो बनाउनुपर्ने बताउँदै नविन कार्यक्रमहरु ल्याउन आग्रह समेत गरे । उनले भभे,‘अहिलेको युगसापेक्ष तथा शहर र ग्रामिण क्षेत्र जस्ता भौगोलिक र आवश्यकता अनुसारको सीप सिकाउने कार्यक्रम ल्याउन आग्रह गर्दछु ।’ 

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि केन्द्रित रहेको एभरेष्टले स्काउटले ल्याउने नयाँ कार्यक्रमको लागि आवश्यक सहयोग गर्ने समेत बताए । एभरेष्टमा हाल ८६ जना स्काउटमा संलग्न विद्यार्थी रहेको अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलले बताइन्।

View : 26

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved