विराटनगर : विराटनगरस्थित हाजी आँखा अस्पतालका सञ्चालक मन्नुकुमार गुप्तामाथि शेयर बिक्रीबापतको करिब १ करोड ५८ लाख रुपैयाँ भुक्तानी नगरेको आरोप लागेको छ। अस्पतालका अन्य शेयरधनीहरूले शेयर बिक्री गरेको ११ महिना बितिसक्दा पनि रकम नपाएको भन्दै कानुनी उपचारमा जाने चेतावनी दिएका छन्।
अस्पतालका कुल १६ जना सञ्चालकमध्ये गुप्ताबाहेक अन्य सबैले आफ्नो शेयर बिक्री गरेको शेयरधनीहरूको भनाइ छ। उनीहरूका अनुसार शेयर बिक्रीबापत डा. गुणराज कट्टेलको ५ लाख ७८ हजार, जेउल कमरको १९ लाख ६२ हजार ६ सय ७, राजेश शाहको ३० लाख ६३ हजार ४ सय र मो. अतहर अन्सारीको ५० लाख ८० हजार १ सय ५६ रुपैयाँ भुक्तानी हुन बाँकी छ।
पीडित शेयरधनीहरूले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै आफूहरूलाई गत वर्ष जेठमै भुक्तानीका लागि चेक दिइएको तर बैंकमा साट्न जाँदा खातामा पर्याप्त रकम नभएपछि चेक बाउन्स भएको बताए। लामो समयसम्म रकम नपाएपछि आफूहरू कानुनी प्रक्रियामा जान बाध्य भएको उनीहरूको भनाइ छ।
पीडितमध्येका मो. अतहर अन्सारीको पक्षमा गत असोज २ गते उच्च अदालत विराटनगरले फैसला गरेको भए पनि फैसला कार्यान्वयन गरी हालसम्म रकम प्राप्त हुन नसकेको उनीहरूले गुनासो गरे।
अदालतको आदेशपछि गुप्ताले कालोसूचीमा पर्नबाट जोगिन कुमारी बैंकमार्फत प्रक्रिया अघि बढाएको र बैंकका कर्मचारीसँगको मिलेमतोमा निवेदन फिर्ता लिन लगाएर रकम भुक्तानी नगरेको पीडितहरूको आरोप छ। उनीहरूले बैंकका कर्मचारीको भूमिकामाथि समेत छानबिन हुनुपर्ने माग गरेका छन्।
शेयरधनीहरूले यस विषयमा सोमबार प्रहरीमा उजुरी दिने तयारी गरेको बताएका छन्।
तर सञ्चालक गुप्ताले भने आफूमाथि लगाइएका आरोप अस्वीकार गरेका छन्। उनले शेयरबापतको सम्पूर्ण रकम चुक्ता भइसकेको दाबी गर्दै आरोपहरू आफूलाई बदनाम गराउने उद्देश्यले लगाइएको बताए।
‘मेरो चरित्रहत्या गर्ने उद्देश्यले यस्ता झुटा आरोप लगाइएको हो। मसँग सबै प्रमाण सुरक्षित छन्,’ गुप्ताले भने, ‘यो विषय अहिले अदालतमा विचाराधीन रहेकाले कानुनी प्रक्रियाबाटै यसको टुंगो लाग्छ।’
शेयरधनीहरूले भने आफूहरूले पाउनुपर्ने रकम प्राप्त नभएसम्म कानुनी र न्यायिक प्रक्रिया अघि बढाउने बताएका छन्।
View : 37
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved