माधव- झलनाथ घोचपेच
विराटनगर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वरिष्ठ नेता झलनाथ खनाललाई राजीनामा दिएर पार्टीबाट बिदा हुन सुझाव दिएका छन्।
पार्टी नीतिविपरीत अभिव्यक्ति दिने व्यक्तिसँग पार्टीमा बस्ने नैतिक अधिकार नभएको टिप्पणी गर्दै नेपालले खनालको आलोचना गरेका हुन्।
शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले भने, "आजकाल त एआईको जमाना पनि छ, बोल्दै नबोलेको कुरा पनि आइदिन्छ। तर यदि त्यो उहाँले बोलेको हो भने, अब पार्टीमा बस्नुपर्ने कुनै आधार छैन। राजीनामा दिनुपर्छ, बिदा हुनुपर्छ।"
पूर्वप्रधानमन्त्री खनालले हालै एक टेलिभिजन कार्यक्रममा एमाले विभाजन गलत निर्णय भएको र एकीकृत समाजवादी पार्टी गठनको औचित्य पुष्टि हुन नसकेको बताएका थिए। सोही अभिव्यक्तिपछि अध्यक्ष नेपालले कडा प्रतिक्रिया दिएका हुन्।
खनालले पार्टीको संस्थागत निर्णयको पटक–पटक उल्लंघन गर्दै आएको आरोप लगाउँदै अध्यक्ष नेपालले भने, "उहाँ त संस्थागत निर्णय उल्लंघन गर्नेमा नम्बर वान हो। यस्तो व्यक्तिको अभिव्यक्तिलाई कुनै अर्थ छैन।"
नेपालले पार्टी अनुशासन र निर्णयहरूको सम्मान गर्नुपर्ने बताए। साथै, कसैलाई पार्टी परिवर्तन गर्न संविधान वा कानुनले रोकेको छैन भन्ने धारणा राख्दै उनले भने, "व्यक्तिको अधिकार हो। तर पार्टीभित्र बसेर विपरीत अभिव्यक्ति दिन मिल्दैन।"
उनले आफ्नो नेतृत्वमा पार्टी अहिले संगठन निर्माणमा केन्द्रित रहेको जनाए। ‘हामी अहिले पार्टी बलियो बनाउने अभियानमा छौँ। विचार मिल्ने वामपन्थी र लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गरेर अघि बढ्छौँ,’ उनले स्पष्ट पारे।
हाल पार्टी एकीकरणको कुनै सम्भावना नरहेको बताउँदै अध्यक्ष नेपालले मोर्चा बनाएर सहकार्य गर्न सकिने धारणा राखे। "अहिले एकीकरणको कुरा छैन। सहकार्यको कुरा छ, मोर्चाको कुरा छ," उनले भने।
View : 101
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved