विराटनगर । गोल्डेन अस्पतालद्वारा सञ्चालित गोल्डेन हेल्थ कलेज तथा गोल्डेन मल्टिटेक्निकल कलेजका नव-आगन्तुक विद्यार्थीहरूका लागि आयोजित स्वागत कार्यक्रम भव्य तथा उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ।
क्याम्पस प्रमुख प्रमोद रौनियारको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोल्डेन अस्पतालका सञ्चालक डा. श्याम कुमार रौनियार प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने अस्पताल सञ्चालक आरती आनन्द रौनियार विशिष्ट अतिथिका रूपमा सहभागी थिइन्।कार्यक्रममा गोल्डेन अस्पतालका सिइओ जिया उल हक , बिभिन्न संकायका को अर्डिनेटर तथा प्रशिक्षकहरुको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रममा उत्कृष्ट प्रशिक्षक सम्मानबाट एलिना शाक्यलाई सम्मानित गरिएको थियो।
प्रमुख अतिथि डा. श्याम कुमार रौनियारले स्वास्थ्य क्षेत्रमा दक्ष, अनुशासित र सेवाभावयुक्त जनशक्ति उत्पादन गर्नु गोल्डेनको प्रमुख लक्ष्य रहेको उल्लेख गरे। उनले अध्ययनसँगै व्यवहारिक सीप, नैतिकता र मानवीय संवेदनालाई आत्मसात् गर्न विद्यार्थीहरूलाई आग्रह गरे।
गोल्डेन हेल्थ कलेजमा हेल्थ असिस्टेन्ट, डिप्लोमा फार्मेसी र पिसिएल नर्सिङ कार्यक्रम सञ्चालनमा रहेका छन्। कार्यक्रममा दोस्रो र तेस्रो वर्षका विद्यार्थीहरूले नव-आगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेका थिए भने पहिलो वर्षका विद्यार्थीहरूले आफूले उक्त विषय रोज्नुको कारण र भविष्यका लक्ष्यबारे धारणा राखेका थिए।
गायन, नृत्य, खेल, नाटक लगायत विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिहरूले कार्यक्रमलाई आकर्षक बनाएको थियो।
कार्यक्रमको समापन गर्दै क्याम्पस प्रमुख प्रमोद रौनियारले गोल्डेन कलेज परिवारमा प्रवेश गरेका विद्यार्थीहरूलाई स्वागत गर्दै भने, “यहाँ प्राप्त हुने शिक्षा केवल प्रमाणपत्रमा सीमित छैन, यो जीवन र सेवासँग जोडिएको यात्रा हो। अनुशासन, निरन्तर अभ्यास र सेवाभाव नै स्वास्थ्यकर्मीको पहिचान हो।” उनले दक्ष शिक्षक, व्यवहारिक सिकाइ र सकारात्मक वातावरणमार्फत विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए।
View : 103
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved