Biratnagar, Morang, Nepal
स्वास्थ

विश्व महिनावारी दिवस

महिनावारी लाज होइन, गर्व हो ।

हामी अब मौन बस्ने बेला सकिएको छ। अब शिक्षा, संवाद र सहानुभूतिको यात्रा सुरु गर्नुपर्छ। विद्यालयमा महिनावारीबारे यथार्थपूर्ण शिक्षा हुनुपर्छ। हाम्रा छोरीहरूले मासिक धर्मबारे खुलेर कुरा गर्न सक्नुपर्छ।
डाक्टर बालकृष्ण साह
१४ जेठ २०८२, बुधवार

Advertisement

केही कुरा नबोल्दा पनि चिच्याइरहेका हुन्छन् । केही कुरा बोल्न मन लाग्छ, तर सकिन्न । महिनावारी — एउटा यस्तै मौन पीडा हो, जसलाई हामीले वर्षौंसम्म ‘लाज’ र ‘लाजमात्र’ ठानेका छौं।

बिरामी कोठाको एउटा कुनामा अघिल्लो वर्ष भेटिएकी थिइन् ती बालिका — दुब्लो, लाजले आँखाभरि ओतप्रोत। आमाले भनेकी थिइन्, “रगत आएको रहेछ, केही खान मान्दिन, कसैसँग बोल्दिन पनि।” मसँग भर्खरको परीक्षा दिएर फर्केकी उनी, अझै पनि महिनावारीलाई रोगझैं लुकाउँदै थिइन्। मैले भनेको थिएँ, “झाेलकुरा बढि खाऊ, दूध पिउ, यो कुनै लाजको कुरा होइन, तिमी जवान हुँदैछ्यौ, यो उत्सव हो।”

आज मे २८। विश्व महिनावारी दिवस। संसारले यो दिनलाई अब केवल ‘स्वास्थ्य’को सन्दर्भमा मात्र होइन, स्त्री अस्तित्वको सम्मानको रूपमा लिन थालेको छ। ‘रगत’ अब केवल जैविक प्रक्रिया होइन, सामाजिक चेतनाको सूचक बनिसकेको छ। तर हाम्रो समाजले अझै महिनावारीलाई पवित्रता र अपवित्रताको तराजुमा तौलिरहेको छ।

कसैको कथा सुन्दा दुख लाग्छ । पहिलो महिनावारी अनुभव गर्दा अत्तालिएर रुनु, कोहीसँग भन्न नसक्नु, स्कुल जान नमान्नु। यस्तो लाग्छ, एउटा अनौठो शारीरिक प्रक्रिया होइन, कुनै लाजमर्दो अपराध हो। अझ सुदूरका गाउँहरूमा त छाउगोठ अझै नहटेका छैनन्। कहाँ त विश्व नयाँ प्रविधि, प्याड एटीएम र ‘पिरियड–फ्रेन्ड्ली वर्कप्लेस’को चर्चा गर्दैछ, कहाँ हाम्रो छोरीहरू अझै रगत देखिएपछि लाजको लत्तो ओढेर कुनामा बस्न बाध्य छन्।

२०२५ को विश्व महिनावारी दिवसको नारा छ — “Together for a Period-Friendly World।” हो, अब समय आएको छ, जहाँ हामी सबैले हातेमालो गरेर एउटा यस्तो समाज बनाउँछौं, जहाँ किशोरीहरू रगत आएपछि डराउँदिनन्, लाज मान्दिनन्, कहिल्यै भेदभाव भोग्दिनन्। यस्तो समाज, जहाँ महिनावारी एउटा लाज होइन, आत्मविश्वासको पहिचान हो।

तर हाम्रो नेपाली समाज? शिक्षित परिवारमा हुर्केका छोरीले पनि “आज म पूजा गर्न मिल्दैन” भनेर आफूलाई नै ‘अपवित्र’ भन्छिन्। स्कुल नजाने कारण लुकाईन्छ । “टाउको दुखेको छ” भनेर ढाटिन्छन् । महिनावारी शब्द अझै मुखको कुनाबाट निस्कँदैन। शिक्षकहरू बोल्न हिच्किचाउँछन्, अभिभावकहरू लाज मान्छन्, साथीहरूले जिस्क्याउँछन्, अनि किशोरीहरू मौन हुन्छन्।

एक डाक्टरको आँखाबाट हेर्दा महिनावारी केवल शारीरिक प्रक्रिया होइन, मानसिक स्वास्थ्यसँग पनि गहिरो सम्बन्ध राख्छ। थुप्रै किशोरीहरू आत्मग्लानीमा हुन्छन्, किनभने उनीहरूलाई महसुस गराइएको छ — “यो असुद्ध हो”, “यो लाजको कुरा हो।” यो गलत हो। महिनावारी कुनै अशुद्धता होइन, जीवन दिने चक्रको सुरुवात हो।

हामी अब मौन बस्ने बेला सकिएको छ। अब शिक्षा, संवाद र सहानुभूतिको यात्रा सुरु गर्नुपर्छ। विद्यालयमा महिनावारीबारे यथार्थपूर्ण शिक्षा हुनुपर्छ। हाम्रा छोरीहरूले मासिक धर्मबारे खुलेर कुरा गर्न सक्नुपर्छ। प्याड सहज उपलब्ध हुनुपर्छ, शौचालय सुरक्षित हुनुपर्छ, अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, ‘दृष्टिकोण’ शुद्ध हुनुपर्छ।

महिनावारीको प्रसंग अब चुपचाप सहेर बस्ने विषय होइन। यो त्यो रगत हो, जसले जीवन दिन्छ, सृष्टि सम्भव बनाउँछ। हामी किन यसलाई लाजका पर्दाभित्र थुन्छौं?

अब हामीले भन्न सक्नुपर्छ । हो, महिनावारी छ, र यो गर्वको कुरा हो। अब छोरीहरूले पनि आत्मविश्वाससाथ भन्न सक्नुपर्छ — "आज मेरो महिनावारी छ, तर म कमजोर छैन। म अपवित्र छैन। म पूर्ण छु।"

आज, यस विश्व महिनावारी दिवसमा, हामी सबैले संकल्प गरौं — अब महिनावारी लुकेर बसिने छैन, बोलीनेछ। अब छाउगोठ होइन,  सम्मान सहितकाे घर निर्माण गरिनेछ। अब रगतको चिउरोलाई थुतेर राखिने छैन, गीत र गर्वसँग सुनिनेछ।

कुनै दिन, अवश्य त्यो दिन आउनेछ ।
जब महिनावारी ‘रगत’को कुरा होइन, ‘गर्व’को कुरा हुनेछ।

View : 358

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved