Biratnagar, Morang, Nepal
मनोरंजन

‘मिस एसईई सिजन ६ इटहरी’को तयारी तीव्र, यही चैत २८ मा अडिसन हुने

-
अखवारका कुरा
२० चैत २०८२, शुक्रवार

Advertisement

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो 'एसईई' यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई लक्षित गर्दै इटहरीमा सौन्दर्य र बौद्धिकताको संगम ‘मिस एसईई सिजन ६ इटहरी’ आयोजना हुने भएको छ । विद्यार्थीहरूको खाली समयलाई मोबाइल र इन्टरनेटको दुनियाँबाट बाहिर निकालेर उपलब्धिमूलक र सिर्जनात्मक काममा जोड्ने उद्देश्यले 'ओपन स्पेस प्रालि'ले यो प्रतियोगिता आयोजना गर्न लागेको हो ।

यसअघि ५ वटा संस्करण सफलताका साथ सम्पन्न गरेको आयोजक कम्पनीले छैठौं संस्करणको अडिसन यही चैत २८ गते शनिबार इटहरीस्थित मादेन इन होटलमा गर्ने तय गरेको छ । प्रतियोगिताका निर्देशक सरोज श्रेष्ठका अनुसार यो कार्यक्रम ताज पहिरिने प्रतिस्पर्धामा मात्र सीमित रहने छैन, यसलाई विद्यार्थीहरूको प्रतिभा निखार्ने र उच्च शिक्षामा जानुअघि उनीहरूलाई मानसिक रूपले तयार गर्ने एउटा महत्वपूर्ण कार्यशालाको रूपमा अघि बढाइनेछ । 

प्रतियोगिता अवधिभर सहभागीहरूले विज्ञहरूबाट विभिन्न जीवनोपयोगी तालिमहरू प्राप्त गर्नेछन् । भोलिको समाज र आफ्नो करियरलाई सही दिशा दिन सक्ने नेतृत्वदायी खुबीको विकास, आफ्नो आन्तरिक र बाह्य व्यक्तित्वलाई आकर्षक र प्रभावशाली बनाउने कलाका साथै हजारौंको भिडमा पनि बिना हिचकिचाहट आफ्ना विचार र तर्कहरू स्पष्टसँग राख्न सक्ने क्षमताको निर्माण गर्नलाई यो कार्यक्रमले महत्वपूर्ण सहयोग पुर्याउने आयोजक कम्पनीका सिइओ सजिना श्रेष्ठ बताउँछिन् ।

यस्तै प्रतिष्पर्धीहरुलाई मञ्चमा आत्मविश्वासका साथ प्रस्तुत हुने व्यावसायिक शैली र हाउभाउको बारेमा पनि विशेष तालिम गराइने आयोजकको भनाइ छ । प्रतियोगितालाई थप स्तरीय र ग्ल्यामरस बनाउन आयोजकले विशेष तयारी गरेको छ । सहभागी किशोरीहरूलाई व्यावसायिक प्लेटफर्मको अनुभव दिलाउन इटहरीस्थित प्रतिष्ठित पाँचतारे होटल ‘रामडा बाइ विन्डहाम’मा विशेष फोटोसुट तथा भिडियोसुट आयोजना गरिने तय भएको छ । 

यसले सहभागीहरूमा थप ऊर्जा र आत्मविश्वास बढाउने आयोजकको विश्वास छ । कलिलो उमेरमै आफ्नो क्षमता पहिचान गर्न र समाजमा आफूलाई अब्बल साबित गर्न 'मिस एसईई सिजन ६ इटहरी' ले एउटा मजबुत पुलको काम गर्नेछ । पढाइलाई निरन्तरता दिँदै अतिरिक्त क्रियाकलापमार्फत भविष्यका नयाँ र फराकिला अवसरहरूको खोजी गर्न चाहने छात्राहरूका लागि यो प्रतियोगिता एउटा उत्कृष्ट प्लेटफर्म साबित हुने आयोजक ओपन स्पेस प्रालिले जनाएको छ । विजेताले ३ लाख बराबरको विभिन्न पुरस्कारहरु प्राप्त गर्नेछन् ।

View : 41

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved