काठमाडौँ — वैदिक सनातन धर्मावलम्बीले आज देशभर श्रावण शुक्ल पूर्णिमाका दिन जनै पूर्णिमा, रक्षाबन्धन (ऋषितर्पणी) र क्वाँटी खाने दिन विविध धार्मिक र सांस्कृतिक कार्यक्रमसहित मनाउँदै छन्।
बिहानैदेखि मठमन्दिर, तालतलैया र नदीघाटमा स्नान गर्ने भक्तजनको भीड लागेको छ। तागाधारी समुदायका ब्राह्मण, क्षत्रिय र वैश्यहरूले आज बिहान वैदिक विधिपूर्वक नयाँ यज्ञोपवीत (जनै) धारण गरेका छन्। पुरानो जनै फेरेर मन्त्रसहित बाँधिने रक्षासूत्र (डोरो)लाई नकारात्मक शक्तिबाट रक्षा गर्ने प्रतीकका रूपमा लिइन्छ।
पौराणिक मान्यताअनुसार सत्ययुगमा दानवद्वारा त्रसित देवगणलाई गुरु वृहस्पतिले मन्त्रसहित बाँधिएको डोराले रक्षा गरेका थिए। त्यसैको स्मरणमा आजको दिन ‘येन बद्धो बलिराजा…’ मन्त्र उच्चारण गर्दै रक्षाबन्धन बाँध्ने परम्परा प्रचलनमा आएको हो।
श्रावण शुक्ल चतुर्दशीदेखि व्रत बसेका तागाधारीले बिहानै गाईको गोबर, खरानी र सप्तमृत्तिका लगाएर पोखरी वा नदीमा स्नान गरी ऋषितर्पण तथा रुद्राभिषेक गरेका छन्। आजको दिनलाई आठ ऋषिहरू—अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्यको पूजासँग सम्बन्धित भएकाले ऋषितर्पणी पनि भनिन्छ।
जनै पूर्णिमामा क्वाँटी खाने परम्परा पनि प्रचलित छ। ११ थरिका गेडागुडी भिजाएर टुसा उमारेर बनाइने क्वाँटी वर्षायाममा शरीरलाई तागत दिने, रोग प्रतिरोध क्षमता बढाउने र चिसो हटाउने धार्मिक तथा आयुर्वेदिक मान्यता छ।
नेपालका तराई क्षेत्रमा भने आजकै दिन राखी बाँध्ने चलन छ। दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँधेर प्रेम र सम्बन्ध बलियो बनाउने यो प्रथा अहिले पहाडी क्षेत्रमा पनि फैलिँदै गएको छ।
आजको अवसरमा मणिचूड (काठमाडौं), गोसाइँकुण्ड (रसुवा), कुम्भेश्वर (ललितपुर), पाँचपोखरी (सिन्धुपाल्चोक), जनकपुरधाम, जुम्ला र त्रिवेणीधामलगायतका धार्मिक स्थलमा बिहानैदेखि मेला लागिरहेको छ। भक्तजनले पूजापाठसँगै जनै फेर्ने, रक्षाबन्धन बाँध्ने र क्वाँटी खाने परम्परा पुरा गर्दैछन्।
View : 209
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved